काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला (कन्चन)ले सरकारले बैधानिक रुपमा जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले यस्तो ठोकुवा गरेका हुन् ।
नेता बास्तोलाले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३६ मा बिक्री गरेको बताउँदै विज्ञका अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दावी गरे ।
उनले दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ? भन्ने प्रश्न गर्दै सरकारले गरेको यस्तो वैधानिक लुटविरुद्ध आमजनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने बताए ।
नेता बास्तोलाले नेपालबाट २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ भारत चुहावट हुने गरेको बताउँदै यस्तो चुहावट रोक्न र नेपाल आयल निगमको मनपरी खर्च र भ्रष्टाचारजन्य कार्य तत्काल रोक्नुपर्ने बताए ।
उनले अहिलेको व्यवस्था नै भ्रष्ट भएकोले यस्ता तमाम भ्रष्टाचार र अनियमितता भएको ठोकुवा गर्दै यी सबै समस्याको समाधानको लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।
नेता बास्तोलाले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन जनमतसंग्रह आवश्यक भएको र त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरेर अगाडी बढ्नुको विकल्प नभएको ठोकुवा समेत गरे ।
एक फरक प्रसंगमा नेता कन्चनले दलाल संसदीय व्यवस्थामा शक्ति पृथकिकरणको सिद्धान्त लागु नभएकाले सर्वोच्च अदालतमा समस्या उत्पन्न भएको बताए ।
‘व्यवस्थापिका, न्यायापालिकामा कार्यपालिका हावि भएकाले अदालतमा समस्या आएको हो ।’ उनले भने, ‘यो समस्याको समाधान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना पछि मात्र हुने छ ।’
उनले यो व्यवस्थामा कसैले पनि न्याया नपाउने ठोकुवा गर्दै आर्थिक पेल्न सक्नेले मा न्याया पाउने बताए । सबैले न्याया पाउन वैज्ञानिक समाजवाद कुर्न पर्ने बताए ।