शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आजदेखि दीर्घरोगीलाई फाइजर खोप : क–कसले लगाउन पाउँछन् ?


  • आइतबार, कार्तिक २८ २०७८
10K
SHARES

फाइल तस्विर

कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए । यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ ।

त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह यी हुन्

— मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।
— मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।
— जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।
— फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।
— अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।
— अङ्ग प्रत्यारोपण गरेका ।
— उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।
— रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।
— मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा