शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मेस्सी मैदान फर्किने दिन झन् अनिश्चित बन्यो : यस्तो आयो अपडेट


  • बुधबार, कार्तिक १७ २०७८
10.8K
SHARES

फाइल तस्विर

फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सी यतिबेला चोटसँग जुधिरहेका छन् । चोटकै कारण च्याम्पियन्स लिगमा बुधबार पिएसजीले खेल्ने चौथो खेलमा मेस्सी नहुने पक्का भएको छ । सो खेलका लागि पिएसजीले घोषणा गरेको टोलीमा मेस्सी समावेश छैनन् । यसको अर्थ पिएसजीले भोलि समूह चरणको चौथो खेल खेल्दा मेस्सी हुनेछैनन् । अन्तर्राष्ट्रिय मिडियाका ताजा रिपोर्ट अनुसार मेस्सीको चोटको पिरलो थप बढेको छ । र, उनी तत्कालै मैदान फर्किन सक्ने सम्भावना देखिएको छैन ।

मेस्सीले पिएसजीमा पछिल्ला दुई दिन समूहमा प्रशिक्षण गरेनन् । र, आज टोलीमै परेनन् । लिग १ मा घरेलु मैदानमा लिलेविद्धको खेलमा मेस्सीले पहिलो हाफ मात्रै खेलेका थिए । दोस्रो हाफमा उनी मैदान नै फर्किएनन् । त्यसपछि प्रशिक्षक मोउरिसियो पोचेटिनोले मेस्सीलाई सामान्य फिटनेस समस्या रहेको मात्रै बताएका थिए ।

खेलपछि पोचेटिनोले मेस्सीको फिटनेसबारे थप जानकारी दिँदै उनले च्याम्पियन्स लिगमा जर्मन क्लब आरबी लेइपजिगविरुद्धको खेल खेल्ने जनाएका थिए । तर, खेलको एक दिनअघि पिएसजीले घोषणा गरेको टोलीमा मेस्सी समावेश नै भएनन् । यसबाट मेस्सीको फिटनेस समस्या जटिल रहेको बुझन् सकिन्छ । यता, आज अर्जेन्टिनी मिडियाले पनि मेस्सीको चोटबारे रिपोर्ट दिएका छन्, जसमा मेस्सी केही समय मैदान फर्किन नसक्ने दाबी गरिएको छ ।

दुई महिनाअघिको खराब ट्याकलबाट लागेको चोट गम्भीर रूपमा बल्झिएपछि मेस्सीको विशेष उपचार नै गर्ने तयारी पिएसजीले गरेको छ । उनको तीघ्राको पछाडिको मांशपेसी च्यातिएको र त्यसकै असर लगातार देखिन थालेको फ्रान्सका मिडियाले क्लबको मेडिकल स्रोतलाई उद्धृत गर्दै खबर छापेका छन् । अर्जेन्टिाको चर्चित मिडिया ‘टिवाईसी स्पोर्टस्’का अनुसार मेस्सीको उपचार स्पेनको मड्रिड सहरमा हुने तयारी भएको छ । पूर्वक्लब बार्सिलोनामा छँदा मेस्सीलाई गम्भीर चोट लाग्दा उपचार गर्ने डाक्टरले यसपटक पनि मेस्सीको उपचार गर्ने चाँजोपाँजो मिलाइँदैछ ।

मेस्सीले भोलि राति हुने खेल गुमाउने पक्का भइसकेको छ । त्यसपछि लिग वानमा १ खेल हुनेछ । त्यसपछि अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । यसपटक विश्वकप छनौटमा अर्जेन्टिनाले ब्राजिल र उरुग्वे गरी दुई ठूला टोलीसँग खेल्दै छ । मेस्सीको उपचार प्रक्रिया अघि बढेमा उनले कम्तीमा यी ४ खेल त गुमाउने पक्का नै छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा