शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

च्याम्पियन्स लिगमा आज हुँदैछन् यी आठ खेल


  • मंगलबार, कार्तिक १६ २०७८
10.2K
SHARES

फाइल तस्विर

काठमाडौं, कात्तिक १६

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज रातिबाट समूह चरण अन्तर्गत चौथो राउन्डका खेल सुरु हुँदैछन् । आज विभिन्न ८ खेल हुँदैछन् । र, यी ८ खेलमा अधिकांश ठूला टोलीका खेल पनि हुँदैछन् । आजको खेलमा साबिक च्याम्पियन इंग्लिस क्लब चेल्सी, इटालियन क्लब युभेन्टस, जर्मन क्लब बार्यन म्युनिख, स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आ–आफ्ना खेल आज राति खेल्दैछन् । नेपालमा यी खेल सोनीका विभिन्न च्यालनबाट लाइभ हेर्न सकिन्छ ।

समूह ‘एच’को चेल्सीले आज अवे मैदानमा स्वीडेनको क्लब माल्मोको सामना गर्दैछ । चेल्सी अहिले अघिल्ला ३ मध्ये २ वटा खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा छ । सोही समूहबाट आज युभेन्टसले रसियन क्लब जेनिटको सामना आफ्नो घरेलु मैदानमा गर्दैछ । युभेन्टस अहिले अघिल्ला ३ वटै खेल जितेर शीर्ष स्थानमा रहेको छ ।

आजको अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले आफ्नो घरेलु मैदानमा पोर्चुगिज क्लब बेनफिकाको सामना गर्दैछ । समूह ‘र्ई’मा रहेको बार्यनले यसअघिका ३ वटै खेल जितेर ९ अंकका साथ शीर्ष स्थानमा । उसले यी ३ वटै खेलमा क्लिन सिट राखेको छ ।बेनफिका त्यही टिम हो, जसले दोस्रो खेलमा आफ्नो भूमिमा स्पेनिस क्लब बार्सिलोनालाई ३–० ले धुलाइ गरेको थियो । तर, त्यसपछि बेनफिका बार्यनसँग ०–४ को फराकिलो अन्तरमा पराजित भयो ।

यता, सोही समूहको बार्सिलोनाले आज अवे मैदानमा युक्रेनको क्लब डाइनामो किभको सामना गर्दैछ । यस समूहमा अहिले यदि कुनै टिम सबैभन्दा चर्को दबाबमा छ भने त्यो बार्सिलोना नै हो । सुरुआती २ वटै खेलमा खराब हार व्यहोरेको बार्सिलोनाले तेस्रो खेलमा आफ्नो मैदानमा किभमाथि १–० को साँघुरो जित निकालेको थियो । सो खेल पनि हारेको भए बार्सिलोना अन्तिम ३ खेलअघि नै आउट भइसक्ने थियो । तर, सो खेल जित्दा उसले आफूलाई अझैसम्म प्रतियोगितामा जीवित राखेको छ । तर, उसको आगामी यात्रा सहज छैन।

आजको अर्को महत्त्वपूर्ण खेलमा इटालियन क्लब एटलान्टा र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको रोमाञ्चक भिडन्त पनि हुँदैछ । यो खेल एटलान्टाको घरेलु मैदानमा हुनेछ । यसअघि भएको पहिलो लेगको खेलमा युनाइटेडले आफ्नो घरेलु मैदानमा एटलान्टाविरुद्ध ३–२ को रोमाञ्चक कमब्याक जित निकालेको थियो । पहिलो हाफमा ०–२ ले पछि परेको युनाइटडले दोस्रो हाफमा ३ गोल ठोकेर घरेलु मैदानमा ३ अंक जोड्न सफल भएको थियो । सो खेलमा क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा शानदार हेडिङमार्फत् विजयी गोल गरेका थिए ।

 

आज रातिका खेल नेपाली समयमा

माल्मो भर्सेस चेल्सी – राति ११ः३० बजे
उल्भ्सवर्ग भर्सेस आरबी लेइपजिग – राति ११ः३० बजे
भिल्लारियल भर्सेस योङ ब्वाईज – राति १ः४५ बजे
युभेन्टस भर्सेस जेनिट – राति १ः४५ बजे
बार्यन म्युनिख भर्सेस बेनफिका – राति १ः४५ बजे
सेभिल्ला भर्सेस लिले – राति १ः४५ बजे
डाइनामो किभ भर्सेस बार्सिलोना – राति १ः४५ बजे
एटलान्टा भर्सेस म्यान युनाइटेड – राति १ः४५ बजे


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा