सोमबारबाट शुरु भएको यातायात व्यवस्था विभागको अनलाइन आवेदन प्रणाली बिहीबार बन्द भयो । प्राविधिक समस्या देखिएपछि विभागले अनलाइन प्रणाली बन्द गर्नुपर्यो । प्रणालीमा एकैपटक ठूलो संख्यामा ‘भिजिटर’ आएपछि सिस्टम नै सुस्त हुन पुगेको छ ।
यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार एकै दिनमा प्रणलीमा १५ लाखपटक ‘हिट’ भएको छ । अर्थात् विभागको लाइसेन्स प्रणालीमा दिनमा फारम भर्नका लागि १५ लाख पटक प्रवेशको प्रयत्न भएको छ । सोमबार यता मात्रै करिब २ लाख ५० हजारले आवेदन भरेका छन् । यसअघि आवेदन भरेका करिब साढे २ लाख व्यक्तिको पालो अझै आएको नै छैन ।
लाइसेन्स कार्यालयहरुको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिने बताए पनि विभागले सेवाग्राहीलाई महिनौंपछिको ‘एपोइन्मेन्ट’ मिति तोकिरहेको छ । अहिले आवेदन भरेकाहरुको कतिपय कार्यलयले २०२२को नोभेम्बरसम्म ‘एपोनमेन्ट मिति’ दिइसकेको छ ।
विभागका कम्प्युटर इन्जिनियर पवित्र डंगोलका अनुसार अनलाइन प्रणालीमा देखिएको समस्या समाधान गरेर फेरि सञ्चालनमा ल्याइसकिएको छ ।
‘बिहीबार रातिबाटै प्रणाली फेरि सञ्चालनमा आएर फारम भर्ने काम सुरु भएको छ,’ उनले भने,’एकैपटक ठूलो संख्यामा सेवाग्राही प्रणलीमा आउँला केही ‘स्लो’ हुने समस्या देखिएको पनि छ ।’
नयाँ आवेदन दिनेहरुले अब अंकभार प्रणालीअनुसार परीक्षा दिने विभागको दावी छ । लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्नेछ । नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।