राजा लक्ष्मीनरसिंह मल्लको समयमा काठमाडौंका प्रसिद्ध व्यापारी थिए— काजी भीम मल्ल। नाताले भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाइँ थिए। तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्लविरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके। ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए।
आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले ‘नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्’ भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतिले सरापेको देश भनिन्छ।
ज्वाइँ भीम मल्लले मृत्युवरण गरेको केही समयपछि राजा लक्ष्मीनरसिंह मल्लले सत्य कुरा थाहा पाए। त्यसपछि आफ्नो कुकर्मका कारण पश्चातापमा परेका राजा लक्ष्मीनरसिंह मल्लले मानसिक सन्तुलन गुमाए। यसरी राजाले मानसिक सन्तुलन गुमाएपछि उनका युवराज प्रताप मल्लले विक्रम संवत् १६९६ मा उनलाई गद्दीबाट हटाएर आफैं राजा भए। गद्दीबाट हटाइएको १८ वर्षपछि विक्रम संवत् १७१४ मा राजा लक्ष्मीनरसिंह मल्लको पागलपनकै अवस्थामा निधन भएको थियो।
सतीप्रथा र सतीश्राप के हो ?
पुरुष अर्थात् श्रीमान्को मृत्युपछि मृतककी श्रीमतीलाई भाङ लगायतका बेहोस हुने जडीबुटीबाट बनेका पदार्थ खुवाइन्थ्यो ।
बेहोस् पारिएकी श्रीमतीलाई मृतक श्रीमान्को शव (लाश) सँगै चितामा सुताइन्थ्यो । मलामीहरू हातमा बलिया लाठा बोकेर तैनाथ रहन्थे । पण्डित अर्थात् पुरेतहरू धार्मिक विधि वाचन गर्न खडा रहन्थे । चितामा आगो बल्न थालेपछि जीवित रहेकी महिला भाङको नशाबाट ब्यूँझिएर कराउन थाल्दथिन् । चिच्याउँदै सहयोगका लागि गुहार माग्दथिन् । तर नारीको त्यो चिच्याहट र आक्रोस अरु मानिसले नसुनून् भन्नाका खातिर बाजाहरू बजाइन्थे । दमाहा, शंख र घण्ट ठूलो आवाजका साथ बजाइन्थे । सतीको चित्कार सुने पाप (श्राप) लाग्नेछ भन्ने मान्यता थियो ।
मृत श्रीमान्सँग बाँधेको डोरी जब आगोले डढाएर टुटाउँछ तब नारी आगोको ज्वालाको ताप खप्न नसकेर छट्पटाउँदै हाम्फाल्ने असफल प्रयास गर्दथे । तर वरिपरि बलिया लाठाहरू बोकेर तैनाथ रहेका मलामीहरू पण्डितको आदेशसँगै नारीलाई चिताबाट उठ्न नसक्नेगरी ती लाठाले जोडले प्रहार गर्दथे । ती असहाय महिलामाथि अनेकन् अपशब्द बोल्दथे ।
आगोको ज्वाला र लाठाको प्रहारबाट थिल्थिलो बनेकी नारीलाई क्रमशः आगोले भष्म पार्दै जान्थ्यो । जीवित र निर्दाेष नारीको शरीर सतीप्रथाका नाममा क्षणभरमा खरानीमा परिणत हुन्थ्यो ।