बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् ।
विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयोग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् ।
उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् ।
उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताइन् । एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् ।
केन्द्रीय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ । समाजवादीका नेता राजेन्द्र पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।