शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सर्वोच्च अदालतका न्यायाधीशहरूमा मुसा प्रवृत्ति देखियो : त्रिपाठी


  • मंगलबार, कार्तिक ९ २०७८
8.6K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतका न्यायाधीशहरूमा ‘मुसा प्रवृत्ति’ देखिएको बताएका छन् । एउटा डुंगा डुब्न लागेपछि हामफालेर मुसाहरु अर्को डुंगामा चढेजस्तै केही न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको साथ छाडेर ‘बडो सुधारवादी’ देखिन थालेको त्रिपाठीको आरोप छ । यस्ता न्यायाधीशहरूमाथि कारवाही हुनुपर्ने उनको माग छ ।

दुई दिनयता प्रधानन्यायाधीश चोलेन्द्रको साथ छाडेका तर अस्तिसम्म उनैको मोहोरा बनेर गलत फैसला सुनाएका न्यायाधीशहरूलाई वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘मुसा प्रवृत्ति’ एवं ‘प्रेम आले–किसन श्रेष्ठ प्रवृत्ति’ को संज्ञा दिए । सर्वोच्च अदालतमा प्रेम आले र किसन श्रेष्ठ प्रवृत्ति जन्मिएको उनले बताए ।

केपी ओलीको जहाज डुब्दैछ भनेपछि उनीहरु (आले र श्रेष्ठ) देउवाको जहाजमा चढेका थिए’ मंगलबार नेपाल पत्रकार महासंघले बत्तीसपुतलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘अहिले न्यायालयभित्र पनि प्रेम आले र किसन श्रेष्ठको फेनोमेना देखा परेको छ ।

त्रिपाठीले अगाडि थपे, ‘किसन श्रेष्ठ र प्रम आलेको जुन प्रवृत्ति हो, अहिले न्यायालयभित्र पनि फेरि त्यही प्रवृत्ति पैदा भएको छ । मैले नाम किन लिनु, तपाईहरु सबै विज्ञ हुनुहुन्छ, न्यायालयभित्रका प्रेम आले र किसन श्रेष्ठहरू को हुन् ।

हिजोसम्म चोलेन्द्रको पक्षमा रहेका न्यायाधीशहरु अहिले मुसाजस्तै गरेर अर्को जहाजमा चढेको त्रिपाठीले आरोप लगाए । उनले भने, ‘अहिले ती न्यायाधीशहरु बडो सुधारवादी भएर निस्किएका छन्, तिनीहरुलाई कारवाहीको दायरामा त ल्याउनुपर्ने हुन्छ । प्रधानन्यायाधीशले उनीहरुलाई प्रयोग गरेर गरिएका गलत निर्णयहरु गरेका छन् । एकल बेञ्चबाट आदेशहरू गरेर संवैधानिक इजलासको सुनुवाई नै रोकेका छन् । यिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुपर्ने हुन्छ ।

पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या र त्यसको समाधानका विषयमा पत्रकार महासंघले छलफलको आयोजना गरेको थियो । सो कार्यक्रममा बोल्दै संविधानविद् भीमार्जुन आचार्यले अबको विकल्प प्रधानन्यायाधीशको राजीनामा मात्र भएको बताए । बरिष्ठ अधिवक्ता त्रिपाठीले भने राजीनामा मात्र नभएर सम्पत्ति छानविन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

कार्यक्रममा बोल्दै अर्का बरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिए नेपाल बारले आन्दोलन गर्ने चेतावनी दिए । उनले अदालतमा जबराको नेतृत्वमा भ्रष्टाचार बढेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा