शनिबार, साउन ३० २०८३
ताजा अपडेट

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा


  • सोमबार, कार्तिक ८ २०७८
12.3K
SHARES

फाईल तस्बिर

कानुन व्यवसायीहरुको छाता संस्था  नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।

सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो ।

‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’

श्रेष्ठले अघि भने, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।’

बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताए । त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।

त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा