काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धक्का लागेको छ । उनकै वडामा वडाअधिवेशन गर्न नसकेपछि उनलाई धक्का लागेको हो ।
ओली बसेकै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने भएको छ ।
अध्यक्ष ओलीले बस्दै आएको सूर्य विनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खडका दुवैले दाबी नछाडेपछि अन्ततः निर्वाचनमा जाने सहमति गरी शनिवार बिना निष्कर्ष अधिवेशन सकिएको थियो ।
वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।
यसअघि दुई दुई पटक अध्यक्ष भइसकेका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दाबी गरेका छन् भने युवा संघका नेता खड्काले नयाँ पुस्ताले नेतृत्व हस्तान्तरण गराउनु पर्ने भन्दै दाबी प्रस्तुत गरे पछि शनिवार सहमति हुन नसकेको एक नेताले बताए ।
उनका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले उद्घाटन गरेको वडा अधिवेशनमा दुवैले दाबी नछाडेपछि आइतबार निर्वाचनबाट टुंग्याउने गरी अधिवेशन स्थगित गरिएको थियो । आइतबार बिहानको प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएको छ ।
यसबिचमा दुवै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरू लागिपरेको स्थानीय गोपाल खनालले जानकारी दिए। अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन्।
खत्री आली इतरका नेता हुन् भने खड्का ओलीका कार्यकर्ता हुन् । महेश बस्नेतको अघिपछि लाग्ने खड्का लागि अध्यक्ष बनाउन ओलीले पनि निर्देशन दिएका थिए । खत्रीले आफूलाई अध्यक्ष नबनाए महेश बस्नेतलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका थिए ।
सो वडामा खत्रीको पकड रहेको छ । सोही धम्कीले गर्दा ओलीलाई तनाव भएको छ ।
त्यस्तै, एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सो अवसरमा एमाले उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायत उपस्थित थिए। अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन्।
प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो। हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ।
एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ।