प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जस्ताको तस्तै पास हुने बताएका छन् ।
बाढि प्रभावित क्षेत्रको अवलोकनमा सुदुरपश्चिम प्रदेश पुगेका देउवाले अर्थमन्त्री जनार्दन शर्मा समेतलाईसँगै राखेर यस्तो बताएका हुन् । देउवाले तत्कालै एमसीसी संसद बाट पास हुने पनि बताएका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा ‘एमसीसी जस्ताको त्यस्तै पारित हुने’ बताएका हुन् । एमसीससीका पक्षमा निरन्तर बोल्दै आएका देउवाले बाढी पिडितको अवस्था बुझ्न जाँदा पनि एमसीसीकै विषय बोलेका छन् ।
‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ प्रधानमन्त्री देउवाले भने,‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो होइन, एमसीसी नेपालको हितमा छ, निस्शर्त पास गर्नुपर्दछ ।’
५० करोड अमेरिकी डलरको यो परियोजनाबाट नेपालमा विद्युतीय प्रशारण लाइन निर्माण गर्ने योजना रहे पनि संसदबाट पारित हुन सकेको छैन ।
साथै सोही पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री देउवाले बमौसमी बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बाढीपहिरोले ठूलो धनजनको क्षति भएको बताए । उनले सरकारले तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्ने बताए ।
संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेलाई लिएर बिहीबार सुदूरपश्चिम पुगेका देउवा आज शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ । पछिल्लो एक साताको बाढीपहिरोका कारण एक सय भन्दा बढीको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । किसानले भित्र्याउन लागेको धान पनि वर्षाले नष्ट गरिदिएको छ ।