काठमाडौं– नेकपा माओवादी केन्द्रमा प्रचण्ड पछिका नेताको रुपमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री बर्षमान पुनलाई हेर्ने गरिएको छ । उनीहरुको पद र पार्टी भित्रको पकडका विषयमा बेलामौकामा बहस हुने गरेको छ ।
यो पटक त्यस्तै बहस हुनेगरी माओवादीले जिम्मेवारी बाँडफाँड गरेको छ । अर्थमन्त्री शर्मा भएपनि पार्टीभित्रको अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुनले बाजी मारेका छन् । पार्टीका आर्थिक सम्बन्धी नीतिहरु कार्यान्वयन गर्न परेमा अब बर्षमानले शर्मालाई निर्देशन दिने छन् । त्यस्तै, शर्मालाई बर्षमानलाई दिनपर्ने संगठन विभाजको जिम्मेवारी दिइएको छ ।
यसका अर्थमन्त्रीलाई अर्थ विभाग र सरकार बाहिर रहेका बर्षमानलाई संगठन विभाग दिएको भए पार्टी र सरकार संचालनमा सहज हुने नेताहरुको विश्वास थियो । संगठन विभाग भनेको पार्टी महासचिव सरहको पद हो । प्रचण्डले जनार्धनलाई त्यही अनुसारको विभागको जिम्मेवारी दिएर बर्षमानलाई बाइपास गरेको अनुमान लगाइएको छ ।
स्थायी कमिटीको आज बसेको बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेर उनीहरुको जिम्मेवारी ठोस गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको जानकारी दिए।
रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ। प्रवक्ता महराका अनुसार पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल छन्। यस्तै विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। तथापि त्यसको संयोजकमा सूर्य सुवेदी रहने भएका छन्।
उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल रहेको प्रवक्ता महराले बताए। जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।
उनका अनुसार कोष तथा आर्थिक व्यवस्थापन विभागमा टोपप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्तिनारायण प्रधान रहेका छन्।
यस्तै पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ छन् भने पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन छन्।
यसैगरी राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभागमा गणेश साह रहेको महराले बताए।
विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव रहेका छन्। यसैगरी संघीय संसदीय विभागमा देव गुरुङ, समाजकल्याण विभागमा सत्या पहाडी, सरकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विकास विभागमा देवेन्द्र पौडेल, समान्य प्रशासन विभागमा टेकबहादुर बस्नेत छन्।
महराका अनुसार साहित्य तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तह विभागमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन्।
प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको जानकारी दिँदै एक सातामा पार्टी सदस्यताको काम पूरा हुने बताए। उनँले राष्ट्रिय महाधिवेशनमा पाँच देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए।