नेकपा एमालेमा फेरि १० बुँदे सहमतिको विषयमा लफडा सुरु भएको छ । एमाले स्थायी समिति बैठकको अघिल्लो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको औचित्य नभएको अभिव्यक्ति दिएपछि असन्तुष्टि चुलिएको हो । ओलीको अभिव्यक्तिलाई लिएर तेस्रो धारका नेताहरु भीम, रावल, घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् । ओलीले बुधबार बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ नगर्न’ चेतावनी दिएका थिए ।
ओलीको सो अभिव्यक्तिपछि उपाध्यक्ष समेत रहेका रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने सहमति कार्यान्वयनको हुनुपर्ने जवाफ ओलीलाई फर्काएका थिए । रावलले ट्वीटरमा ओलीलाई जवाफ फर्काएका छन्–‘१० बुँदे सहमति ‘एकतारे’ होइन, पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे बिगुल हो । यसको धून संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’
यस्तै नेता घनश्याम भुसालले भने ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् भने तेस्रो धारको प्रतिनिधित्व गर्ने नेताहरुले बिहीबारको स्थायी कमिटी बैठकमा ओलीको अभिव्यक्तिको विषयमा कुरा उठाउने बताएका छन् ।
ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकै कारण तेस्रो धारण नेताहरुले अन्तिम समयमा माधव नेपाललाई नयाँ पार्टी बनाउन सघाएका थिएनन् ।
यसैबीच ओलीको अभिव्यक्ति र तेस्रो धारणका नेताहरुको प्रतिजवाफपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । यसै विषयमा साढे ३ बजे स्थायी समितिको बैठक सुरु हुनुअघि भीम रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र ओली निकट शंकर पोखरेलबीच छलफल भएको छ । सोही छलफलका कारण तीन नेता ढिलागरी बैठक हलतर्फ प्रवेश गरेका थिए । छलफलमा के भयो भन्नेबारे खुलिसकेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।