काठमाडौँ — गत फेब्रुअरीमा म्यानमारको सत्ता हत्याएका सेना प्रमुख जेनेरल मिन आङ ह्लाइङलाई ठूलो झड्का लागेको छ । उनलाई आसियान सम्मेलनमा सहभागी नगराइने भएको छ ।
दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान)ले म्यानमारका सेना प्रमुखलाई शिखर बैठकमा सहभागी नगराउने भएको हो ।
उनको सट्टामा अन्य गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियानले सहमति गरेको छ ।
आगामी अक्टोबर २६ देखि २८ सम्म ब्रुनेईमा आसियान शिखर बैठक हुँदैछ । १० सदस्यीय राष्ट्र रहेको आसियानमा सदस्य राष्ट्रको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगरेपनि यो निर्णयलाई अभूतपूर्व किसिमको बताइएको छ ।
आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो । द्वन्द्व अन्त्य गर्न सेनाले काम नगरेको आसियानले बताएको छ ।
गत अगस्टमा जेनरल ह्लाइङले आफैं प्रधानमन्त्री घोषणा गरेर देशमा संकटकाल लगाएका थिए । सेनाले सत्ता हत्याएपछि म्यानमारमा भएको प्रदर्शनका क्रममा हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँको सेनाले म्यानमारका नागरिकलाई दमन गर्दै आएको भन्दै विरोध भइरहेको छ ।
यस्तै म्यानमारमा सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्ति रिहा हुने भएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।
एक क्षेत्रीय शिखर सम्मेलनका क्रममा म्यानमारमा हाल जारी संकटलाई कम गर्ने सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।
कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरुलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुका साथै ८ हजार भन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।–एजेन्सी