कार्तिक महिनाको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, व्यापारी वा व्यवसायीहरूले अचानक अयाचित र भरपूर लाभ पाउने समय लिएर सूर्यले यसै भावमा प्रवेश गरेको छ । बोलीमा विशेष प्रभाव देखा पर्नेछ । रूपसौन्दर्य र व्यक्तिगत साजसज्जाप्रति मनको आकर्षण रहनेछ । साझेदारीको काम र बहुपक्षीय कामबाट फाइदा नै हुनेछ, तर स्थिर सम्पत्ति र शेयरमा लगानी गर्दा सोच र बुद्धिको निकै प्रयोग गर्नु पर्नेछ । जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । उता वैवाहिक जीवन र प्रेमसम्बन्धमा पनि सुखद र मिठो फल प्राप्त हुने सङ्केत छ, तर यस अवधिमा अहङ्कार र रिसलाई आफूभित्र हाबी हुन दिनु हुँदैन । धार्मिक क्रियाकलापप्रति झुकाव बढ्नेछ । कार्यक्षेत्रमा वर्चस्व कायम हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गते अलि कमजोर समय देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो महिना जे गरे पनि सफलता हातपर्ने सम्भावना हुन्छ । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । शत्रु र प्रतिद्वन्द्वीमाथि हाबी हुने र विजय प्राप्त हुने समयको आगमन भएको छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । प्रतियोगिता र परीक्षामा सहभागी हुनेछात्रछात्राले सफलता आर्जन गर्नेछन् । व्यापारी वा व्यवसायीले मुनाफा र फाइदाका लागि अझ धेरै मिहिनेत र लगनशीलता गर्ने समय हो ।
सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गते अन्य दिनका तुलनामा कमजोर दिन हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको कार्यक्षेत्र र बन्दव्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । आम्दानीमा बृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय हो । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्न सक्छन् । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय छ । यो अचानक धनलाभ हुनसक्ने समय पनि हो । भविष्यको योजना बनाएर गरिने लगानी जस्तै घरघडेरी, जग्गाजमिन, वीमा वा शेयर कारोबारमा धन लगानी गरेमा लाभ हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेका दिन तपाईंले विशेष काम नगरेको राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मातृसुख, वाहनसुख र विदेश यात्राको फल प्रदान गर्ने घरमा सूर्यको आगमन भएको छ । भाग्यले साथ दिने समय हो, अबको एक महिना व्यापार/व्यवसाय वा बुद्धि र चतुर्याइँको कामबाट लाभ मिल्नेछ । कार्यक्षेत्रमा तपाईंका क्रियाकलापले प्रशंसा बटुल्नेछन् । कुनै विशेष योजना, छात्रवृत्ति वा अनुसन्धानात्मक काममा सफलता प्राप्त हुनेछ । आर्थिक पक्ष मजबुत छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानुपर्ने परिस्थिति बन्नेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त मिल्नेछ । नयाँ घरघडेरीको जोहो गर्ने विचारमा हुनुहुन्छ भने यो महिना उचित समय हुनसक्छ । प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य समय छ । राशिस्वामी चन्द्रमाले यस अवधिमा ०८, ०९, १०, १८, १९, २६, २७ र २८ गतेका दिन अशुभ गृहको यात्रा गर्ने भएकाले ती दिनमा हरेक काममा सतर्कता अपनाउनु अनिवार्य हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तेस्रो घर अर्थात् पराक्रम स्थानमा भगवान् सूर्यनारायणको आगमन भएको छ । यस अवधिमा बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक धनप्राप्तिको योग बनेको छ । सामाजिक सम्बन्धमा सुधार आउने छ, परोपकार, एकाग्रता र समर्पण भावमा बृद्धि हुने समय हो । आत्मबल र हिम्मतको सञ्चरण हुनाले यतिवेला जेजस्ता समस्या र चुनौती तेर्सिए पनि सहजै झेल्नसक्ने सामर्थ्य प्राप्त हुनेछ । धार्मिक र परोपकारी कार्यमा रुचि जाग्नेछ, मित्रवर्ग, बन्धुबान्धव र कुटुम्बपक्षको पूर्ण साथसहयोग प्राप्त हुनेछ । तपाईंको कार्यक्षेत्र राजनीति हो भने यस अवधिमा कुनै निकाय वा परियोजनाको नेतृत्व वहन गर्ने र जिम्मेवारी प्राप्त गर्ने अवसर पाइने छ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गतेका दिन चन्द्रमाले अशुभ भावको यात्रा गर्ने हुँदा कुनै पनि यात्रा वा विशेष काममा सतर्कता अपनाउने समय हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंको राशिबाट सूर्यदेवले दोस्रो भावमा रहेको धनस्थानमा प्रवेश गर्दैछन् । वैवाहिक जीवन र प्रेमप्रसङ्गमा सुखद पल बिताउने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा पनि कतिपय राम्रा अवसरहरू मिल्नेछन् । सूर्यले धनभावमा प्रवेश गर्नु भनेको आर्थिक पक्षमा तपाईंका लागि शुभ सङ्केत हो । छात्रछात्रामा सूर्यको सकारात्मक प्रभाव रहनेछ, तर स्वास्थ्यस्थितिमा भने सानातिना समस्या देखा पर्न सक्छन् । सकेसम्म यस गोचर कालमा मानसिक तनाव र झञ्झटबाट जोगिने प्रयास गर्नुपर्छ । सामान्यतया यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गते अन्य दिनका तुलनामा कमजोर रहेकाले हरेक व्यवहारमा सतर्कता अपनाएको जाति हुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश हुँदैछ । राशि परिवर्तनको यस प्रभावले पेसा, व्यवसाय वा रोजगारी आदि क्षेत्रमा केही राम्रा र शुभ अवसरहरू प्राप्त हुनेछन् । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी पाउन सकिन्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्त्वाकाङ्क्षी र स्थिर काम सम्पन्न हुने समय हो । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । मानसिक तवरले सबल, उत्साही, साहसी बन्नुहुनेछ । सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर मिल्नेछ । घरपरिवार र इष्टमित्रको साथसहयोग पाइनेछ । आर्थिक पक्ष पनि मजबूत नै देखिन्छ ।चन्द्रमाको गोचर विचार गर्दा यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गतेको समय तपाईंका लागि अशुभ रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बाह्रौं भाव खर्च र हानिको घर हो, यो महिना यसै भावमा सूर्यले भ्रमण गर्नेछन्, त्यसैले आर्थिक क्रियाकलापका हरेक पक्षमा अनावश्यक र फाल्तु खर्च त भइरहेको छैन, खासगरी बजेटलाई सन्तुलित बनाउने प्रयास गर्नुपर्छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति बन्नसक्छ । यो बाध्यात्मक खर्च बढ्ने समय पनि हो, तर जग्गाजमिन, सेयर कारोबार र दीर्घ प्रयोजनको काममा लगानी गरेको राम्रो हुन्छ अनि यस पाटोको काम गर्न ऋणकारोबार गर्नसमेत उपयुक्त समय छ । घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । यस महिनाको ०८, ०९, १०, १८, १९, २६, २७ र २८ गते अन्य दिनका तुलनामा अझ नकारात्मक समय रहने हुँदा बढी सतर्कता अपनाएको राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो समय राज्यस्थान वा लाभ भावमा सूर्यदेवले परिभ्रमण गर्ने समय हो । तपाईंका सम्पूर्ण इच्छा र आकाङ्क्षाहरू पूर्ण गर्ने महिनाका रूपमा यस समयको आगमन भएको छ । यस अवधिमा सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । गरेका प्रयास र कामधाममा हरेक तरिकाले लाभ पाउने समय हो । सरकारको उच्च ओहदाका मानिसहरूसँग सुसम्बन्ध कायम हुनेछ, अझ राजनीति नै तपाईंको कार्यक्षेत्र हो भने तपाईंले राम्रो फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । आयस्तर बृद्धि गर्न भएगरेका प्रयासमा सफलता मिल्नेछ । घरघडेरी वा शेयर बजारमा पूँजी निवेश गर्न अनुकूल समय छ । यस पटकको मिहिनेतले तपाईंको हातमा धनागमको नयाँ स्रोत वा स्थायी रोजगारी प्राप्त हुनेछ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ०१, ०२, ०३, ११, १२, १३, २०, २१, २८, २९ र ३० गते अलि सतर्कताका साथमा व्यवहार गर्ने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सूर्यले दशम भाव अर्थात् कर्मक्षेत्रमा प्रवेश गरेको छ, यसको प्रभावले कार्यक्षेत्र र क्यारियरमा अचानक शुभ परिणाम प्राप्त हुनसक्छन् । कुल, परम्परा र आध्यात्मिकतातर्फ चासो बढ्नेछ । यो कडा मिहिनेत गरी आफ्नो वर्चस्व स्थापना गर्ने समय हो । कार्यस्थलमा उन्नति/प्रगति र प्रशंसा प्राप्त हुनेछ । वरिष्ठ र हाकिमसँगको सम्बन्धमा सुधार आउने समय छ । व्यवसाय र क्यारियरमा चतुर्दिक् उन्नति गर्ने समय हो, व्यवसायीहरूले राम्रो मुनाफा कमाउने अवसर पाउन सक्छन्, त्यस्तै कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । मानसम्मान, प्रतिष्ठा र आत्मविश्वासमा बृद्धि हुनेछ । पारिवारिक माहौल खुसी र आनन्दले भरिपूर्ण रहनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने समय छ । कर्मचारीहरूले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो । स्वास्थ्यगत समस्याहरूको निदान हुनेछ । परीक्षा र प्रतियोगितामा सफल भइने छ । चन्द्रगोचरका आधारमा यस महिनाको ०३, ०४, ०५, १३, १४, १५, २२ र २३ गतेका दिन अशुभ रहनेछन्, त्यसैले यी दिनमा कुनै दीर्घप्रयोजनको वा शुभ कर्म नगरेको जाति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्मस्थानमा सूर्यको प्रवेश भएको छ, तर राशिस्वामी शनिश्चर, पञ्चमेश बुध र राहुले क्रमशः बाह्रौं, आठौं र चौथो घरको यात्रा गरेको समय भएकाले मिश्रित प्रभाव भएको समय हुनेछ । यस अवधिमा भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय रहनेछ । सामान्यतया यस महिनाको ०६, ०७, ०८, १५, १६, १७, २४ र २५ गते तपाईंका लागि अशुभ रहनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अष्टम भावमा सूर्यको गोचर प्रारम्भ भएको छ, त्यस्तै यस महिनाको २३ गतेपछि राशिस्वामी बृहस्पतिले बाह्रौं भावको यात्रा प्रारम्भ गर्नेछ । अष्टम भाव दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सावधान हुनु राम्रो हुन्छ । भाइरलको समस्या वा मूत्रग्रन्थी र यौनमूलक रोगले पनि सताउन सक्छ । अतः यो समय विशेषगरी व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति सचेत हुने समय हो । यो हरेक काममा विघ्नबाधा र ढिलासुस्ती हुने समय पनि हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्न सकेमामात्र सफलता मिल्नेछ । सामान्यतया यस महिनाको ०८, ०९, १०, १८, १९, २६, २७ र २८ अझ बढी नकारात्मक समय रहने हुँदा यी दिनमा कुनै पनि शुभकर्म र लामो दूरीको यात्रा नगरेको राम्रो हुन्छ ।