काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी स्थापना भएको दुई महिनामै ठूलो झट्का लागेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल नेतत्वको पार्टीलाई खोलेको २ महिना नबित्दै सोलुखुम्बुका नेता तेन्जी शेर्पाले पार्टी परित्याग गरेको घोषणा गरेपछि झट्का लागेको हो ।
नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवालय सदस्यसमेत रहेका शेर्पा र जिल्ला कमिटी सदस्य सोना शेर्पा एमालेमै फर्किएका छन् ।
विद्यार्थी राजनीतिमा सक्रिय र प्रभावशाली मानिएका शेर्पा विभाजनबाट बृहत् कम्युनिष्ट एकताको राष्ट्रिय आवश्यकता पूर्ति हुन नसक्ने भन्दै एमालेमै फर्किएका हुन् ।
‘बृहत कम्युनिष्ट एकताका लागि एमालेको विकल्प छैन,’ उनले भने, ‘फुट र विभाजनमा अल्मलिँदा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासको बाटो अवरुद्ध हुन्छ ।’
उनले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय कार्यभार पूरा गर्न एमालेलाई बलियो बनाउनुपर्ने बताए ।
नेता शेर्पाले केही दिनभित्रै नेकपा एकीकृत समाजवादी निकटको सोलुखुम्बु जिल्ला कमिटी नै एमालेमा समाहित हुने दाबीसमेत गरेका छन् । उनको यस्तो दाबीले एसमा तरङ्ग गएको छ ।
त्यस्तै, नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतम पनि नेकपा एसमा नर्फने भएका छन् । शहरी विकास मन्त्री रामकुमारी झाँक्री दशैंको टिका लगाउने बहानामा बामदेवको घरमा पुगेकी थिए ।
उक्त भेटमा गौतमले आफू अहिले कुनै पनि पार्टीमा नजाने जवाफ फर्काएर पठाएका थिए । नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी नेतृ झाँक्री दशैंको टिका लगाउन गौतम निवास पुगेकी थिइन् ।