पाटनको एउटा मन्दिरमा मान्छेको मासु अर्पण गर्ने चलन छ । सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरमा हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्ने चलन चलिआएको छ ।
धेरैलाई त सुबहाल कहाँ पर्छ भन्ने नै थाहा नहोला। काठमाडौं उपत्यकामा मूलसडकबाट भित्र गल्ली चोकहरू चहार्दा यस्ता अनेकौं बहाल भेटिन्छन्, जहाँ प्रायः मान्छे बिरलै पुगेका हुन्छन्। सुबहाल त्यसैमध्ये एक हो।
नवमीको रात भक्तजनहरूले शरीरको मासु काटेर चढाउने ठाउँ सुबहालको महांकाल मन्दिर हो। स्थानीयहरू यो संस्कारलाई ‘ला खायेगू’ भन्छन्। नेवार भाषामा ‘ला’ भनेको मासु, ‘खायेगू’ भनेको ताछ्नु हो । प्रत्यक बर्षको नवरात्रीको अन्तिम तिथी नवमीको दिन मान्छेको मासु ताछेर चढाउने गरीन्छ ।
यो पूजा राति ७ बजेतिर सुरू हुन्छ। दुई गुभाजू र छ जना आजु ९सुबहालकै सबभन्दा जेठा व्यक्ति० ले पूजाविधि सम्पन्न गर्छन्। पूजा व्यवस्थापन उमेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले चर्या गीत गाउँछन्। उनीहरू डमडम डमरू बजाउँछन्। छनछन ताः छन्काउँछन्।
यही डमडम र छनछन तालबीच गुभाजूहरूले टङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्। पूजाकक्षमै मकलमा आगो बालेर होम गरिन्छ। जसै गुभाजूले ‘ला खायेगू’ सुरू गर्न इसारा गर्छन्, भक्तजनहरू पालैपालो पूजाकक्ष छिर्छन्।
यो संस्कार गर्दा नाइटोभन्दा तल्लो भागको मासु चढाउन पाइँदैन। नाइटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सियोले घोचेर छालाको मसिनो पत्र उप्काइन्छ। त्यही पत्र धारिलो ब्लेडले चट्ट काटेर यज्ञवेदीमा चढाइने चलन चल्दै आएको छ ।