आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

धुलाम्य सडकको विराेधमा बूढानीलकण्ठबासी सडकमा उत्रने


  • KTM Khabar
  • शनिबार, असोज २३ २०७८
931
SHARES

बाँसबारी–बूढानीलकण्ठ धुलाम्य सडक

बाँसबारीदेखि बूढानीलकण्ठ जाने बाटोको अवस्था कमजोर बनेको छ । आवत जावत गर्ने व्यक्तिले धुलो र खाल्डालाई छिचोल्दै हिँड्न बाध्य छन् । काठमाडौँको सबैभन्दा बिग्रिएको बाटो मध्य एक बनेको छ बाँसबारी–बूढानीलकण्ठ सडक । बिग्रिएको सडकमा सरकारको कुनै चासो नदेखाएको भन्दै बूढानीलकण्ठबासी सडकमा आउने भएका छन् ।

बुढानिलकण्ठको धुलो र खाल्डोको बारेमा फूलपातीको दिन मङ्गलवार प्रदर्शनका लागि सडकमा आउने भएका हुन् ।

घर–घर, पसल–पसलबाट मानिसहरू प्लेकार्डसहित उपस्थित हुनेछन् र २० मिनेट प्रदर्शन गर्नेछन् । यो प्रदर्शनीमा कुनै पार्टी वा दलीय भेदभाव हुनेछैन तथा कोही व्यक्ति तथा समूह वा दलले यसको फाइदा लिने गरी झन्डा वा नेतृत्व पनि देखाइने छैन । यो सामान्य र जन सामान्यको विरोध हुनेछ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा यस प्रदर्शनीको अगुवामध्येका एकले जानकारी गराए ।

जनताले दुख पाएको कुरा वा जनताको बोलीमा राजनीतिमा गर्न आवश्यक नभएको भन्दै उनले फूलपातीको दिन बिहान ८ बजेदेखि ८ः २० सम्म यो प्रदर्शनी हुने बताए । बाँसबारीदेखि बुढानिलकण्ठसम्मका सबै घर पसलका अगाडि सोही घर पसलका धनीहरू प्लेकार्ड लिएर उभिने उनले बताए । यसका लागि सोमवार माइकिङ गर्दै प्रदर्शनीको महत्वकाबारे जानकारी गराइने पनि उनले बताए ।

यही बाटोबाट आफ्नो घर पुग्ने शेरबहादुर देउवा यतिखेर प्रधानमन्त्री छन् । प्रम भएको ३ महिना हुन लाग्यो तर बाटो बन्न सक्ने अवस्था देखिएको छैन । यही बाटो प्रयोग गरेर पुगिने ठाउँमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको निजी निवास पनि छ । उनी १० वर्षदेखि राष्ट्रपति छिन् । यही बाटोसँग सम्बन्धित मान्छे मध्ये पर्दछन् वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन । तर एक वर्षदेखि यो बाटोको हालत यस्तो भइरहँदा यी कुनै पक्षले काम गरेको देखिँदैन । बुढानीलकण्ठ नगरपालिका पनि यस विषयमा गम्भीर भएको देखिँदैन । यही बाटोको आधा भाग ईश्वर पोखरेलको क्षेत्रमा पर्दछ भने आधा भाग गगन थापाको क्षेत्रमा पर्दछ । तर दुवै सांसदले यो धुलो र खाल्डोको बारेमा बोलेको सुनिएको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा