सङ्घीय संसदहरुले यो पटक दशै भत्ता भेटेका छैनन् । गत वर्ष दशै भत्ता बाँड्दा चौतर्फी सरकारको विरोध भएको बुझेका अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई ऋणमा धकेलेर दशै खर्च जनप्रतिनिधिलाई बाँड्न नसकिने सङ्केत समेत गरिसकेको कारण सांसदले यो पटक दशै भत्ता नपाउने लगभग निश्चित भएको छ ।
संसद् सचिवालयका प्रमुख लेखा अधिकृत वसन्त सिग्देलले गत वर्ष दशैँ भत्ता दिँदा विवाद भएको र मन्त्री परिसदले दशै भत्ता दिने वा नदिने कुनै निर्णय नगरेको कारण यो पटक दशै भत्ता नदिएको बताएका छन् ।
संसद सचिवालयले मंगलबार सांसदहरुको बैंक खातामा दशैं भत्ताबाहेक असोज महिनाको तलब मात्र पठाएको छ । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक तलब ६६ हजार ७० रुपैयाँ पाउँछन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पीएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा भएको छ ।
केही सांसदहरुले भने यसपटक पनि दशैं भत्ता पाउनुपर्ने माग गर्दै संसद् सचिवालयलाई दबाब दिँदै आएका थिए । तर, मन्त्रिपरिषद्बाट निर्णय पनि नभएको र अर्थ मन्त्रालयबाट बजेट पनि नआएकाले असोज महिनाको तलब मात्र सांसदको खातामा पठाएको संसद सचिवालयले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।