शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

मन्त्री चयनमा पौडेल समूहमै हानथाप


  • बिहिबार, असोज २१ २०७८
5.3K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा रस्साकस्सी देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्रीको नाम सिफारिश गर्न भनेका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । अर्काे नाम महामन्त्री डा. शशांक कोइरालासँग मागेका थिए ।

कांग्रेसमा पौडेल समूह भनेर कोइरालासहितको समूहलाई चिनिन्छ । तर प्रधानमन्त्री देउवाले शशांक र पौडेलसँग एक/एक मन्त्रीको नाम मागेको बैठकमा सहभागी एक नेताले बताए ।

महामन्त्री कोइरालाले आफ्नो समूहबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजालको नाम सिफारिश गरेका थिए । तर उनले अन्तिममा भने रिजाललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव गरे ।

पौडेलले पाएको एक मन्त्रीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गरेपछि कुरा मिल्न नसकेको ती नेताले  बताए ।

सिंहले काठमाडौं-१०बाट निर्वाचित सांसद राजेन्द्रकुमार केसीको नाममा अडान राखे । ‘रामचन्द्र दाइले चाहिँले तेजुलालको नाम लिनुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘तर बागमतीबाट सरकारमा प्रतिनिधित्व भएन भन्नेमा प्रकाशमानको जोड थियो ।’

बैठकमा देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि नाम मागेका थिए । सिटौलाले भने आफ्नो समूहबाट बारा-१ बाट निर्वाचित सांसद उमाकान्त चौधरीको नाम प्रस्ताव गरे ।

पौडेल समूहले बैठकमा कांग्रेसले पाउने मन्त्रीमध्ये तीन आफ्नो समूहले पाउनुपर्ने माग गरेको थियो । तर देउवाले दुईभन्दा बढी दिन नसकिने बताएपछि पौडेल सहमत भएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा