नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता बाक्लिएको छ ।
तिन नेताको भेट बाक्लिँदा बरिष्ठ नेता रामचन्द्र पौडेलको टाउको दुखेको स्रोत बताउँछ । रामचन्द्र पौडेल खेमामा रहेका नेता सिंह र कोइराला दुवै सभापतिका प्रत्याशी हुन । उता निधि पनि सभापतिमै उठ्ने घोषणा गरी सकेको अवस्था छ । तिन नेताको बाक्लो भेटले पौडेलले सभापतिबाट आउट हुन सक्ने सङ्केत देखिन थालेको स्रोतको दाबी छ ।
उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच सोमबार दिउँसो छलफल भइरहेको छ । निधि निवास मध्यबानेश्वरमा जारी छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको बताइएको छ ।
कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल भएपनि नेतृत्वका लागि एक जनाको नाममा सहमति हुन सकेको छैन । १४ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै विमलेन्द्र, शशांक र प्रकाशमानबीच पटकपटक छलफल हुँदै आएको छ । नेतृत्वमा तीनै जनाको दावी छ ।
केहिदिन अघि महामन्त्री कोइराला निवासमा भएको छलफलमा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीभित्र भूमिका निर्वाह गर्ने र सर्वसम्मत नेतृत्वका लागि सभापतिका सबै आकांक्षीसँग छलफल गर्ने निर्णय गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।