नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षपछि प्राप्त उपलब्धी गुम्ने खतरा बढेको बताएका छन् । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाले आयोजना गरेको भर्चुअल भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अहिले देशभर केपी आतङ्क रहेको भन्दै त्यसलाई परास्त गर्न आम कार्यकर्ता र नागरिक सचेत हुनुपर्ने उल्लेख गरे । प्रतिक्रियावादी शक्तिहरुले जनतालाई भ्रम सिर्जना गरेकोले सचेत हुन अपीलसमेत गरे ।
आफूले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई सम्वृद्धीतर्फ लैजाने योजना अनुरुप नेकपा एमालेसँग पार्टी एकता गरे पनि गलत प्रवृति र केपी ओलीको गुटगत राजनीतिले सपना चकनाचुर भएको प्रचण्डले टिप्पणी गरे । अब फेरि जनताको घरदैलोमा माओवादी केन्द्र आफ्ना एजेण्डा र उपलब्धिसहित जानुपर्ने बताए ।
सम्वोधनका क्रममा प्रचण्डले मन्त्रिपरिषद् विस्तार केही दिन लम्बिन सक्ने संकेत समेत गरेका छन् । शुक्रबार बिहान पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताउँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ हुँदा मन्त्रिपरिषद् विस्तार लम्बिन सक्ने बताए ।
‘माधवजीसँग फोनमा कुराकानी भएको छ, उहाँ रुघाखोकीबाट ग्रसित हुनुहुन्छ,’ प्रचण्डले भने, ‘डाक्टरले केही दिन अस्पतालमा बस्नुपर्छ भनेका कारण मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुनसक्छ । तर अन्य साथीहरु लागेको हुनाले आजभोलिमा पनि टुंगिन सक्छ ।’
सो अवसरमा प्रचण्डले माओवादी ‘जनयुद्ध’बाट प्राप्त उपलब्धिलाई जनतामाझ पुर्याउनुपर्ने बताए । २०६४ सालपछि माओवादी बिग्रेको बताउँदै पहिलो कुरा नेतृत्व सच्चिँदै जाने हो भने फेरि पार्टी नयाँ तरिकाले अगाडि बढ्ने बताए ।
उनले अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।
‘हामी केन्द्रमा एकता अथवा गठबन्धन कायम राख्ने विषयमा छलफल चलाइरहेका छौं,’ उनले भने, ‘तपाइँहरुले पनि अन्य पार्टीका साथीहरुसँग छलफल चलाएर वातावरण बनाउनुहोस् ।