नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । तर विधान महाधिवेशनको मुख्य मञ्चमा पुष्पलाल, मदन र मनमोहनको तस्बिर कतै देखिँदैन । आज भन्दा अगाडि एमालेका सबै कार्यक्रमहरूमा एमालेका स्व नेताहरु पुष्पलाल, मदन र मनमोहनका तस्बिर स्पष्ट देखिने ठाउँमै हुने गर्थे तर यो पटको अधिवेशनमा त्यो देख्न पाइएन ।
नेकपा एमालेका अगाडिका कार्यक्रममा एमालेका तत्कालीन नेताहरू माधव नेपाल, झालनाथ खनाल र बामदेव गौतम हुने गर्थे । एमाले भनेको नै माधव नेपाल झालनाथ खनाल र बामदेव हुन भन्ने जनतालाई थियो तर अहिले माधव नेपाल र झालनाथले छुट्टै दल दर्ता गरेका छन् भने बामदेव तटस्थ रहेका छन् ।
महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो ।
विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन । बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर देखिन्छ ।
महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।
विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।