शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एकपटक आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेँ, अन्तिममा क्रन्तिकारी ढंगले लड्ने निर्णय लिए : प्रचण्ड


  • शुक्रबार, असोज १५ २०७८
9.7K
SHARES

फाईल तस्बिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।

अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई बिहीबार प्रज्ञा भवनमा सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।

भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर मा (धर्ती माता) यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भने, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपांगको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’

यसो भन्दै गर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने संकल्प गरेको भन्दै उनले भने, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’

माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उनले बताए । तर सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भने, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’

२०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले भने, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०/६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’

तर जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उनले सुनाए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भने, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा