शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनता निराशा : नेता सिंह


  • बिहिबार, असोज १४ २०७८
8K
SHARES

तस्विरः फाइल

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अरू क्षेत्रमा जस्तै निश्चित समयपछि अवकास राजनीतिमा पनि हुनुपर्नेमा त्यसो नभएको भन्दै आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा निराशा छाएको बताए ।

बुधबार काठमाडौंको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनमा जोड दिए ।

बहुदल आएपछि सबै पार्टीभित्र निश्चित नेताहरूले कब्जा जमाएकाले परिवर्तनको आभास हुन नसकेको भन्दै उनले कांग्रेसमा अब पार्टी सभापति, वरिष्ठ नेतालगायतलाई अवकास दिएर अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने धारणा राखे ।

‘नेपाली कांग्रेस सधैँ जनताका लागि काम गर्दै आइरहेको छ । तर, वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेका छन् । यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ’, नेता सिंहले भने, ‘पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाई राख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’

अघिल्लो निर्वाचनले पनि पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेकामा उनले जोड दिए ।

पार्टी नेतृत्वले आगामी महाधिवेशन अलोकतान्त्रिक तवरले गर्ने प्रयास गरेको भन्दै उनले आफूहरूले त्यसो हुन नदिने बताए । पदमा जानको लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारो पारेको उनको गुनासो छ । लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै नेता सिंहले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा