शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भारतीय विदेशमन्त्रीले भनेजस्तो विशेष सम्बन्धबारे छलफल भएकै छैन : परराष्ट्रमन्त्री खड्का


  • बिहिबार, असोज १४ २०७८
7.9K
SHARES

फाईल तस्बिर

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय परराष्ट्र मन्त्रीले भने जस्तो विशेष छलफल नभएको बताएका छन् ।  खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए ।

बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले भारतीय विदेशमन्त्रीले उल्लेख गरेको ‘विशेष सम्बन्ध’बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा मन्त्री खड्काले भने, ‘त्यो विशेष भन्ने विषय हाम्रो छलफलमा आएको थिएन ।’

जयशंकरले सहमति भयो भनेर आफ्नो ट्वीटर लेखे पनि त्यस्तो केही नभएको बताउँदै मन्त्री खड्काले भने, ‘त्यो उहाँको ट्वीट हो, मैले धैरै भन्ने कुरा छैन ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर मन्त्री खड्का बिहीवार बिहान स्वदेश फर्किएका हुन् । सोही क्रममा जयशंकर र खड्काबीच भेटवार्ता भएको थियो । उनीहरुबीचको उक्त भेट शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछिको पहिलो उच्चस्तरको कूटनीतिक भेट थियो ।

सो भेटमा जयशंकरले भनेको कुरा जानकारी दिने क्रममा मन्त्री खड्काले भने, ‘घनिष्ट मित्र भएको हुनाले नेपाल–भारतको सम्बन्धमा उठ्ने सवालहरू वार्ताद्वारा समाधान गर्ने सकेसम्म गर्दै आएका छौं र हामी फेरि मिल्छौं भनेर उहाँले भन्नुभयो ।’

मन्त्री खड्काले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय सातौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकरलाई निम्तो दिइने र जयशंकर त्यसमा सहभागी हुने पनि बताए । यद्यपि सो बैठक कहिले हुन्छ भन्ने खुलिसकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा