नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने भट्टराईको भनाइ छ ।
‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।’ पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले वरिष्ठ नेता नेपालसहितको एमाले बनाउन आफूहरुले धेरै प्रयास गरेको बताए ।
माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको भट्टराईको भनाइ थियो । ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो ।
पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो,’ भट्टराईले भने, ‘पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’
सबै नेता, कार्यकर्ता कोही व्यक्तिको पछाडि नलाग्ने भट्टराईले बताए । सुरुमा नेपाल खेमामा रहेका र अन्तिम समयमा ओली खेमामा गएका भट्टराईले आफूहरुले माधव नेपाललाई धोका नदिएको बताए । ‘
नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने,’ भट्टराईले भने, ‘आफूले पनि अध्ययन गरेर, विश्लेषण गरी विवेक गर्न सक्छन् ।’