नेकपा आओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउदो चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने बताएका छन् । प्रचण्डले भनेका छन् युद्ध सुरु गर्दा पनि कसैले नपत्याएको स्मरण गर्दै पहिलो संविधान सभामा पनि हामीलाई एक नम्बरको पार्टी बन्ने कसैले नभनेको र अहिले पनि कसैले नसोचेको परिणाम आउने र माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गरेका छन् ।
माओवादी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान आयोजित दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरेका हुन् ।
पहिलो संविधानसभामा माओवादीको पक्षमा जनलहर ‘छप्पर फाटेर’ आएको र अब त्यस्तै माहोल ल्याउन पार्टी पुनर्गठन र रुपान्तरणको अभियान सुरु गरेको प्रचण्डले बताए ।
‘यसबीचमा नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेका छन्,’ उनले भने, ‘यो १५ वर्ष देशको राम्रोसँग नेतृत्व गर्न नपाई बितेछ ।’
प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण पनि गरे ।
प्रचण्डले माओवादी पार्टी निर्माण र रुपान्तरणको महान अभियानतिर अगाडि बढेको जिकिर गरे । ‘यो ८/१० वर्ष हामीले अरुलाई गाली गरेर बिताएछौं । अब आफैंलाई गाली गर्न थालौं,’ उनले भने, ‘मैले बिगारेँ, म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्छ । आफूलाई सच्याउनतिर लाग्यो भने पार्टी बदलिन्छ ।’
सत्तारुढ गठबन्धनको नेता समेत रहेका प्रचण्डले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको भन्दै अहिलेको गठबन्धन अर्को निर्वाचनसम्म जान सक्ने संकेत पनि गरे ।