शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

केपी ओलीको पेलानले रस निस्किएपछि धनश्याम भुसालको होस आयो


  • KTM Khabar
  • मंगलबार, भाद्र २९ २०७८
4.1K
SHARES

फाईल तस्बिर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्येमार्गी नेताहरुसँग बदला लिन थालेका छन् । उनले एकपछि अर्को जिम्मेवारीबाट मुक्त गर्दै बदला लिन थालेका हुन् ।

नेकपा एमाले विभाजन हुँदा माधव नेपालले बनाएको नेकपा एकीकृत समाजवादीमा नगएर एमालेमै बसेका तेश्रो धारका नेताहरुलाई ओलीले रस आउने गरि पेलेपछि बल्ल होसमा आएका छन् । उनीहरु एमालेमै बसेर गल्ति गरेको महसुस गर्न थालेका छन् ।

पार्टी विभाजनको मुखैमा पुग्दासम्म तेस्रो धारका नेताहरुले केपी ओलीको चर्को आलोचना गर्थे । अहिले ओली कै निर्णयले भीम रावल र योगेश भट्टराईले आफ्नो जेठ दुई अघिको जिम्मेवारी पाएनन् । पार्टी उपमहासचिव घनश्याम भुसाललाई पनि जिम्मेवारी दिएनन् ।

गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधव नेपाललाई साथ दिँदै आएका तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूले नेपालको साथ छाडे ।

नेता नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि नेपालनिकट भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, अमृत बोहरालगायतका नेताले नेपालसँगको राजनीतिक यात्रामा विश्राम लगाए ।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति अक्षरशः पालना गर्न नसकिने बताएपछि उनीहरूको राजनीतिक भविश्य नै संकटमा पर्ने आशंका भइरहेको छ ।

ओली समूहबाट सुवासचन्द्र नेम्वाङ र नेपाल समूहबाट भीम रावल संयोजक रहेको सो कार्यदलले गरेको प्रस्तावमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठन नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र कार्यदिशा र विधानको व्यवस्थाबमोजिम २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

तर, अध्यक्ष ओलीले १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने भन्दै त्यसैमा अल्झिएर नबस्न निर्देशन दिएपछि नेपाल समूह छाडेर एमालेमै बसेका नेताहरू अप्ठेरोमा परेका छन् । प्रदेश, जिल्लास्तरमा समेत २ जेठको कमिटीको जिम्मेवारी नपाउँदा नेताहरू दिनहुँ आफ्नो भूमिकाबारे चिन्ता व्यक्त गर्न थालेका छन् ।

अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा इमानदार नभएको भन्दै उनीहरूले असन्तुष्टि जाहेर गर्न थाले पनि आगामी यात्राबारे स्पष्ट चित्र उनीहरूले कोर्न सकेका छैनन् । १० बुँदे सहमति कार्यान्वयन नगरेर ओलीले आफूहरूलाई धोका दिएको भन्नेमा भने ती सबै एकमत छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा