नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेर पूर्व सहयात्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति खनिएका छन् । उनले नेपाल र प्रचण्ड दुवैले नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन नसक्ने दाबी समेत गरे ।
ओलीले पार्टी फुटाएर गएका माधव नेपालले आगामी चुनावमा वडा सदस्य समेत जित्न नसक्ने दाबी पनि गरे । मंगलबार झापामा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपालले पार्टी बनाउन नजानेको फुटाउन मात्रै जानेको बताए ।
‘माधव नेपालले पार्टी बनाउँदैनन्, एमाले फुटाउन खोजेको हो बनाउन होइन, फाइदा लिनुसम्म लिए, प्रधानमन्त्री, नेता भए, गुटबन्दी गरे, एमालेलाई माधव नेपालले २४० मध्ये ३३ मा झारे र आफै राजीनामा गरे’, ओलीले विगत सम्झँदै भने, ‘राजीनामा दिएपछि चुप लागेर बस्नुपर्दैन ? प्रधानमन्त्री बनाइयो, तर सकिन भनेर हिँडे तर फेरि मैलाई चाहियो भन्छन् के हो ? के फेरि पार्टी रसातलमा पुर्याउन ?’
उनले आफूहरूले माधवलाई कम्युनिस्ट आन्दोलनमा जोडेको तर पुन छुट्टिएको बताए । ‘माधव नेपाल यसरी जोडिएका रहेछन् कि रसायन पुगेकै रहेनछ, पक्लक्क फुक्ल्यो ।’ ओलीले माधव नेपालले पार्टी फुटाउन नसकेको दाबी पनि गरे । उनले एमाले नफुटेको बरु चोइटिएको भन्दै ओजन नघटेको र पिलो पुलुत्त निस्केको मात्रै बताए ।
ओलीले एमालेले अबको चुनावमा पनि एमालेले नै जित्ने भन्दै प्रचण्डले केही दिनअघि सही कुरा प्वाक्क बोलेको बताए । ‘प्रचण्डले मुखबाट प्वाक्क निकाल्नुभयो । हामीले वडामा पनि जित्न हम्मेहम्मे पर्ने रहेछ कि जस्तो, उहाँले कुरा बुझ्नुभयो । तर माधव नेपालले त वडाध्यक्ष त के वडा सदस्य पनि जित्दैनन्, के कारणले उनलाई भोट हाल्छन् ?’, ओलीले प्रश्न गरे । अध्यक्ष ओलीले प्रचण्ड असल बाबु, काका र असल ससुरो, सम्धी भए पनि धोकेवाज,बेइमान छट्टू नेता भएको दाबी गरे ।