शनिबार, साउन ३० २०८३
ताजा अपडेट

दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुँदै, को कहाँ ?


  • आइतबार, भाद्र २७ २०७८
10K
SHARES

फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीसहित दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागेको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउनका लागि कानुन मन्त्री बनाइएका ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्कै मन्त्रालयमा सरुवा गर्न लागिएको हो ।

एमसीसी संसदबाट पास गराउने मुख्य जिम्मेवारी दिएर मन्त्री बनाईएका कार्कीलाई एमसीसी लगभग संसदबाट पास नहुने सम्भावना देखेपछि अर्को मन्त्रालयमा पठाउने तयारी गरिएको हो ।

त्यसका लागि प्रधानमन्त्री देउवाले कार्कीलाई परराष्ट्र मन्त्रालय लैजान तयारी थालेका छन् । यसअघि परराष्ट्र मन्त्रालयमा कांग्रेसकै सुजाता कोइराला र नारायण खड्काले दावि गर्दै आएका थिए ।

तर अहिले देउवाले कोइरालालाई उक्त मन्त्रालय दिन नसकिने र खड्कालाई पनि रोक्न चाहेको देउवा निकट स्रोतले जानकारी दियो ।

‘ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयमा लैजाने योजना प्रधानमन्त्रीको देखिएको छ,’ स्रोतले भन्यो, ‘सभापतिले महाधिवेशनलाई पनि केन्द्रमा राखेर यो चाहना राख्नुभएको हुन सक्छ ।’

देउवाले कांग्रेसको महाधिवेशनलाई केन्द्रमा राखेर सरकारमा व्यवस्थापन गर्न चाहेका उनको दाबी छ । उता स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पनि जिम्मेवारी हेरफेर गर्न देउवा तयार भएका छन् । उनलाई पनि अर्को मन्त्रालयको पूरा जिम्मेवारी दिने तयारीमा देउवा रहेको स्रोत बताउँछ ।

“डा। गोविन्द केसीले यसअघि नै मन्त्री श्रेष्ठको बर्खास्तगीको माग गर्दै अनशनको घोषणा गरेका थिए, प्रधानमन्त्रीसँगको भेटमा पनि पनि उनले यही अडान राखेका थिए, त्यसबेला प्रधानमन्त्रीले श्रेष्ठलाई अर्को मन्त्रालयमा लगेर भए पनि डा। केसीको माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो,” स्रोत बताउँछ ।

मन्त्री श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीकै महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले समेत सार्वजनिकरुपमा असन्तुष्टि जनाएपछि देउवालाई अप्ठेरो परेको थियो । दुवै नेता देउवा निकट मानिन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा