भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या भएको समाचार एकाएक बाहिरियो । मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।
हत्याको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।
६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए।
उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।
तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ।
उक्त कपडासहित घटनामा हत्यामा प्रयोग गरेका सामान प्रहरीले बरामद गरेको छ। संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।
लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ।