शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

महिलालाई ‘नलेज मेकर’ मूलधारको लेखिका स्विकार्न किन यो पुरुष प्रधान समाजले सक्दैन ?

एउटा नारी लेखिका राम्रो लेख्छिन् तर उनको लेखनी कहाँ बिकाउने ? यहाँ पत्रपत्रिका र प्रकासक पनि आफन्तवाद र राजनीतिवाद बाट ग्रसित छन्


  • पुष्पा घिमिरे
  • आइतबार, भाद्र २७ २०७८
36.1K
SHARES

लेखिका / पुष्पा घिमिरे

नेपाली प्रतिष्ठित भलाद्मीहरू अझ समीक्षकहरू जो समाजमा प्रतिष्ठित हुँ भनेर आफूले आफैलाई ठान्नुहुन्छ उहाँहरू कुनै महिलाले समाजमा रहेका जुनसुकै सामाजिक व्यवस्थाका विषयमा कलम चलाउँदै गर्दा सबैभन्दा पहिला ठुलठुलो अक्षरमा हेडलाइनमै लेख्न भ्याउनुहुन्छ लेखिका नारी बादी हुनुहुन्छ भनेर उहाँहरू नारीलाई मूलधारको लेखिका मान्नै तयार देखिनु हुन्न । राज्यले तोकेको तेत्तीस प्रतिसतको आरक्षणको चस्मा लगाएर खुम्च्याउन खोज्नु हुन्छ । सिधै हामीलाई महिला बादी लेखक भन्ने ट्याग लगाइदिनु हुन्छ ।

अझ प्रस्ट सँग भनौँ पुरुष त्यो पनि कुनै एक पार्टीको झोला बोक्ने प्रतिष्ठित भलाद्मीहरूलाई कुनै पनी महिलाले मूलधारको साहित्य लेख्न सक्दैनन् भन्ने लाग्छ । सायद उँहाहरु मूलधारको साम्राज्य पुरुषको मात्र हो भन्ने सोच्नु हुन्छ । फेरी कलम चलाउने नारी मित्रहरू मक्ख पर्नुहुन्छ महिला बादी भनेर खुम्च्याई दिएकोमा । मानौँ उहाँहरूलाई अत्तोपत्तो छैन यो विषयमा वा बुझेर पनि बुझ पचाउनुभएको हो र किताबको अर्को पेजमा आफ्नो धारणा राख्दै लेख्नुहुन्छ समीक्षकलाई धन्यवाद छ । अरे लेखिका मित्रहरू कमसेकम हामीलाई मूलधारको लेखक मान्न तयार नहुने नारी बादी ट्याग थोपर्ने समीक्षाको खण्डन गर्नुस् ।

म यो विषयमा धेरै जान्ने नभए पनि पाठकलाई चित्त बुझाउनु पर्यो । नारी हुँ अवश्य नारी भएको नाताले महिला लेखकका किताब हेर्ने गर्नु स्वभाबिक हो । किताबले उठान गरेको विषय एकातिर हुन्छ, तर सुरुमै समीक्षकले लेखेका हुन्छन् लेखिका नारी बादी हुनहुन्छ,नारीका हक अधिकार खोज्नुहुन्छ यस्तै यस्तै । नारीलाई नारी बादी र नारीको हक अधिकार खोज्ने भनेर समीक्षा गरिरहन जरुरी छ जस्तो मलाई लाग्दैन । बरु नारी बादी भनिएको ठाउँमा कृतिको ब्याख्या गरिदिए हुन्थ्यो । अवश्य एउटा नारी नारी बादी हुन्छीन । तर पुरुष सरह मूलधारको साहित्य लेख्नै सक्दिन भन्ने मनको कुनामा राखेर सिधै नारी बादी भन्नु नि तरिका हो ? नारी बादीनै भनेर ट्याग चाँही किन लगाउनु पर्ने ?

यसको पछाडि एउटै मात्र कुरा छ नारीहरूले कलम चलाए भने नारी बादीनै मात्र चलाउँछन् र नारीहरू कुनै पनि  मूल प्रबाहामा पुग्न सक्दैनन् भन्ने कुराले भलाद्मी भनिएका पुरुषको मनमा डेरा जमाएको छ ।

हो यस्तै समाजका प्रतिष्ठित पार्टीका झोला बोकेर किताबको समीक्षा गर्ने भलाद्मीहरूका कारण नारी लेकखिकाहरु मूलधारको लेखनमा आउन सकेका छैनन् । लेखनी मात्र हैन जुनसुकै फिल्डमा पनि नारीलाई अहिले पनि प्रश्न खडा गरिन्छ । आवाज दबाउन खोजिन्छ र अस्तित्व स्विकार्न खोजिँदैन ।

मैले कुनै पुस्तक लेख्ने हिम्मत गरेको छैन । तर मैले नाम चलेका–नचलेका नारीहरूले लेखेका थुर्पै किताब पढेकी छु । एका दुईमा बाहेक अधिकांशमा समीक्षकहरूले नारी बादी ट्याग लगाई दिएका छन् यसमा मैले आपत्ति जनाउनु पर्ने त थिएन तर  मुल प्रबाहामा किन नारीहरूलाई स्विकार्न सकस पर्छ भन्ने कुरा उठान गर्ने मेरो उद्देश्य हो ।

नेपाली साहित्यको दुनियामा नारीले कलम नचलाएका भने हैनन् । पारिजात पछि पनि केही महिला साहित्यकारको जन्म भएको छ । केही बर्ष अगाडि मात्र पनि योगमाया जस्ता कृती बजारमा आएका छन् । तर लेखनि राम्रो हुँदा हुँदै धेरै जना पलाएन भएका छन् । किन पलाएन भए भन्ने विषयमा यहिनै कारण हो भन्न त सकिन्न तर जुनसुकै विषयमा कलम चलाउँदा महिलाबादी भनेर ट्याग लगाएर मूलधारको साहित्यमा लेख्नै सक्दैनन् भन्ने जसरी व्याख्या गर्ने नेपाली नाम चलेका पुरुष लेखकहरुको व्यवहार छ त्यो पनि एउटा कारण हो ।

अरु पनी कारण छन् नभएका हैनन् एउटी महिला चुलो चौको घर व्यवहार अफिस छोरा छोरी सप्पै भ्याउनु पर्ने हुन्छ । समयको अभावको कारण पनि पलाएन भएका होलान् तर स्वयं लेखकहरुको समूहले महिला नलेज मेकरको रूपमा स्विकार्न नसकेको कुरा यथार्थ हो ।
बरु महिलालाई राजनितिमा टिक्न सहज होला तर बुज्रुक हरुबाटा लेखिका भनेर स्वीकृत हुन बडो सङ्घर्ष गर्नु पर्छ ।

यति कुरा मैले गरिसकेपछि यसले ठुलो कुरा गरी भन्ने लाग्न सक्छ तर म पाठक हुँ । पाठकलाई चित्त नबुझेका कुरा लेख्न पाइन्छ जस्तो लग्छ । महिला लेखकले लेखेका पुस्तक किनेर हेर्ने गर्छु यो भन्दैमा पुरुष लेखकहरूले लेखेको पढ्दिन भन्ने पनि हैन ।

म सबै पुस्तक भ्याए सम्म हेर्ने कोसिस गर्छु । कहीँ कहीँ पुस्तक विमोचन कार्यक्रम पनि पुग्ने गर्छु । यसरी धेर थोर पुस्तक बटुल्ने भएपछि किन महिलाहरू मूलधारको साहित्यमा जम्न सक्दैनन् किन पुरुष साहित्यकारहरुले मात्र प्रायजसो मदन पुरस्कार हात पार्छन् भन्ने कुरा मनमा खड्कीन्छ । हुन त उत्कृष्ट लेखनी नभएकै कारण होला तर महिला लेखिकाहरू मूलधारको लेखनीमा नआई कोही पलाएन हुन्छन् भने धेरै जसोलाई महिला बादि भनेर ट्याग झुन्डिएको हुन्छ । यसलाई मैले निम्न तिन ओटा बुँदामा प्रस्ट पार्दै छु ।

घरपरिवार

एउटा महिला बुबा आमाको घरमा त स्वतन्त्र नै हुन्छे तर जब श्रीमानको घरमा पुग्छे अब उसलाई घर व्यवहारले छोप्ने गर्दछ । बिहान सवेरै उठ खाना तयार पार खाना सबैलाई खुवाऊ अनि भाडा सफा गर अफिस जाऊ बच्चा बच्ची छन् भने झनै गरो मनमा लेखनी भए पनि अब समय निकाल्न कठिन पर्छ । समयको कारण पनि लेख्न सक्दैनन् तर लेख्न बसे भने पनि काहा सभ्य छ र हाम्रो समाज घरमा पाहुना आए भने पनि श्रीमती लेख्दै छे भनेर श्रीमानले चिया पकाएर खुवाइनु हुन्न । पाउना पनि श्रीमतिलेनै हेर्नुपर्ने हुन्छ । बाल बच्चालाई पनि बाबुले हेर्दैनन् तिनीहरूको स्याहार सुसार पनि आमाकै जिम्मा हुन्छ । यहाँ सम्म की श्रीमान् लेख्न बस्यो भने श्रीमतीले बाबा लेख्दै हुनहुन्छ हल्ला नगर भन्छिन् तर आफ्नै श्रीमानले कहिल्यै आमा लेख्दै छिन हाल्ला नगर भनेर बच्चाहरूलाई सम्झाउदैनन । यहि कारण पनि महिला हरू लेखक भएर जम्न सक्दैनन् जस्तो लाग्छ ।

पुरुष प्रधान सोच

मैले माथि नै प्रस्ट भने महिलालाई प्रतिष्ठित पुरुष हरुनै कृतिकारको रूपमा स्विकार्दैन स्विकारी गए भने ट्याग लगाई दिन्छन महिलावादीको रूपमा । ए त्यो लेखिका भनेर निधार खुम्च्याउने पुरुष जमात ठुलो छ यहाँ । किनकि पुरुष प्रधान समाजले हामीलाई मूलधारको साहित्यमा आएको हेर्नै चाहँदैन जस्तो लाग्छ ।

अर्थ राजनीति र आफन्तवाद 

एउटा नारी लेखिका राम्रो लेख्छिन् तर उनको लेखनी कहाँ देखाउने । यहाँ पत्रपत्रिका पनि आफन्तवाद र राजनीतिवाद बाट ग्रसित छन् । जसको आफन्त छन् उसको लेखनी बिक्ने । जसको अर्थतन्त्र बलियो छ, जसको राजनीतिक पहुँच छ उसको कृती प्रकाशकले प्रकाशन गर्ने र निरन्तर एउटै मान्छे मात्र प्रकाशकको पावरवाला चस्माले देख्ने भएका कारण पनि महिला लेखक जम्न सक्दैनन् ।
अन्त्यमा एउटी नारीलाई कलम चलाउन जति कठिन छ त्यति नै कठिन बुज्रुकले लेखक भनेर मुल प्रवाहामा स्विकार्न झनै कठिन छ । त्यसैले घरी घरी लाग्छ नारी भएर जन्मिएकै कारण उत्कृष्ट लेखनी हुँदाहुँदै पनि कयौँ नारी स्रष्टाहरू पलाएन हुनुपरेको छ । त्यसैले हरेक पत्र पत्रिकाले,हरेक प्रकाशकले पुरुषलाई मात्र उत्कृष्ट देख्ने र निरन्तर प्रकाशकको आँखा एउटै ब्यक्तिमा मात्र पार्ने सोचबाट अलिकति माथि उठेर उत्कृष्टलाई उठाइदिने हो भने कयौँ नारी हरू फेरि पारिजात भएर जन्मिन सक्छन् । धन्यवाद ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा