काठमाडौँ–नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, टिम म्यानेजर र प्रशिक्षणलाई विशेष सम्मान गरेको हो ।
हात्तीसार स्थित नेपाल हाउस बैँक्वेटको हलमा गरिएको कार्यक्रममा टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने तेक्वान्दो खेलाडी पलेसा गोर्वधन, टिम म्यानेजर दीपक बिष्ट र प्रशिक्षक कविराज नेगी लामालाई नगद सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा गरिएको सम्मान कार्यक्रमको सभापतिमा दीपक गुरुङ रहेका थिए ।
यस्तै कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य राधा घले, नेपाली कांग्रेसका युवा नेता मनिष जोशी, नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका पदाधिकारी तथा खेलकुदसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मध्यान्ह १२ बजेबाट सुरु भएको औपचारिक कार्यक्रमको सुरुवातमा दिवङ्गत खेलाडीहरूको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
तेक्वान्दो खेलाडी पलेसालाई टोकियो पाराओलम्पिकमा जानु पूर्व हौसला प्रदान गर्न बागमती लोकतान्त्रिक खेलकुद संघले एउटा कमिटमेन्ट गरेको थियो । सोही अनुसार आज पलेसा तथा टिमको सम्मान कार्यक्रमको आयोजना गरिएको सभापति गुरुङले केटिएम खबरलाई बताए ।
पलेसालाई नगद ४० हजार, टिम म्यानेजर विष्टलाई नगद ७ हजार र प्रशिक्षक लामालाई ७ हजार नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेसालाई बधाई दिँदै खेलाडीहरूको हक, हितका निम्ति आफू सदैव प्रतिबद्ध रहेको जनाएका थिए ।
उक्त कार्यक्रमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सचिव बद्री भट्टराईले सञ्चालन गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका सभापति दीपक गुरुङसंग स्थलगत संवाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।