शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

संखुवासभा घटना: यस्तो रहेछ सामूहिक ह*त्याको गाँठी कुरो


  • KTM Khabar
  • बिहिबार, भाद्र २४ २०७८
15.7K
SHARES

संखुवासभा – संखुवासभामा भएको सामुहिक हत्याको विषयमा विभिन्न अड्कल बाजीहरु भइरहेका छन् । जिल्लाको मादी नगरपालिका वडा नं. १ को खोलागाऊँमा भएको उक्त घटनाले सबैको मन भकानीएको छ ।

उक्त घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रदेश प्रहरी कार्यालय, बिराटनर, संघीय प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालय, संखुवासभाले अनुसन्धान गरिरहेको छ ।

सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई त्यही घरको परिवारले फोन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनलाई ‘कार्की आमै फेरि विरामी भइन्, झारफूक गर्न तुरुन्त जानु पर्‍यो ।’भनेका थिए ।

उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मुर्छित भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृत्यु भइसकेको भनेर घाट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक होस आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बेहोस् भएको भन्ने बुझे र झरफुक गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त सखाप भइसक्यो ।’ उनले झारफुक गर्ने भनिएकी पार्वतीको सुतेकै ठाउँमा हत्या भएको थियो भने अरुका शव अन्यत्र भेटिएको छ । ‘गाउँमा कोहीसँग कार्की परिवारको दुस्मनी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मारेको भनेर लाश देख्दा पनि पत्याउन गाह्रो परिरहेको छ ।’

छिमेकी रणबहादुर कार्कीका अनुसार ठूलो छोरा बिहान साढे ८ बजेतिर सडक छेउमा शव देखेको भन्दै डराउँदै आए । त्यसपछि रणबहादुरसहित अन्य व्यक्ति गएर हेर्दा सडक छेउमा घोप्टो परेको अवस्थामा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटियो ।

‘छोराले बढाबाउ भन्दै छुन खौज्दै थियो । मेले रोकेर वडाध्यक्ष र मेयरलाई खबर गरेँ’ उनी भन्छन् । कार्की परिवारको घरतिर जाँदै गर्दा खोल्सीमा बुहारी ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव देखेको उनी बताउँछन् ।

घरमा हेर्दा पार्वतीको शव खाटमै सिरक ओडेर लडिरहेको अवस्थामा देखेको रणबहादुरले सुनाए । ‘दुई जना बच्चा पनि थिए । उनीहरु कता होलान् भनेर खोज्दै जाँदा घरमाथि खरबारी छेउमा शव भेटियो,’ उनी भन्छन् । खराबरमिा भेटिएको शव तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको थियो ।

छिमेकी नन्दकुमार घटनामा एकजनाको संलग्नता हुनै नसक्ने दाबी गर्छन् । ‘यो त परिवारै सिध्याएको घटना हो अझ खेदाउँदै मारेको घटना कसरी एक्लै सम्भव होला र ?’

सबै मृतकको टाउको पछाडि मात्र चोट भएकाले व्यवसायिक व्यक्तिको घटनामा संलग्नता हुनसक्ने स्थानीय ज्ञानबहादुर कार्की पनि अनुमान गर्छन् ।

यो परिवारका ९१ वर्षीय बृद्ध बौद्धमान सकुशल छन्, जोन कान कम सुन्छन्, राम्ररी आँखा देख्दैनन् । उनी बेलुकी ६ बजेतिर खाना खाएर दलानमा सुतेका थिए । छेवैमा श्रीमती सुत्ने खाट थियो, उनको त्यही हत्या हुँदा पनि बौद्धमानले पत्तै पाएनन् ।

भन्छन्, ‘पहिले पनि बुढी वेला वेला सुतेको वेला मरेजस्तै हुन्थी, एकैछिनमा विउँझिएर खान खान्थी, घाँस काट्थी । त्यही सोचेँ, तर अर्कैको आँखा लागिसकेको रहेछ ।’

अहिले बेसाहारा भएका उनी ‘बरु मलाईलाई पनि मारिदिए हुन्थ्यो’ भन्दै भक्कानिने गरेका छन् । छिमेकी मदन घिसिङ भन्छन्, ‘एकदमै बेहोसी अवस्थामा हुनुहुन्छ ।’

घटनापछि बौद्धमानका एउटा नाती वैदेशिक रोजगारीाबाट घर फर्किएका छन् । ‘काठमाडौं आइपुगेको सुनेको छु, एकरदुई दिनमा आइपुग्छन् होला’ उनले भने । अनुसन्धानमा खटिएका जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले मारिने सबैको टाउकोमा गम्भीर चोट देखिएको बताए ।

घटनास्थलको जाँच बुझका लागि बोलाइएका फरेन्सिक विज्ञले पनि धार नभएको हतियार प्रयोग गरेर टाउकोमा हिर्काइएको हुनसक्ने भनेका छन् । ‘अहिलेसम्म प्राप्त सूचनालाई विश्लेषण गरेर अनुसन्धान गरिरहेका छौं’ उनले भने, ‘अनुसन्धानमा सहयोग केन्द्र, प्रदेश र संघीय प्रहरीको टोली पनि खटिएको छ, चाँडै नतिजा दिन्छौं ।’

प्रारम्भिक अनुसन्धानमा हत्याको कारण पैसासँग नजोडिएको उनी बताउँछन् । घरमा नगद र जिन्सी जस्ताको तस्तै भएकाले पहिले अनुमान गरिएजस्तो लुटपाट वा चोरी गर्ने उद्देश्यले घटना भएको नदेखिएको सुवेदी सुनाउँछन् ।

मादी नगरपालिकाका मेयर विदुरकुमार लिंथेप चाहिँ प्रहरीबाट चाँडै नतिजा निस्किनेमा आशावादी रहेको बताउँछन् । ‘अपराधी पत्ता नलागेसम्म मानिसहरुलाई डर पैदाहुने स्थिति देखियो’ उनी भन्छन्, ‘जतिसक्दो चाँडो आरोपीसम्म प्रहरी पुग्नुपर्छ, यसमा स्थानीयवासीको पनि सहयोग रहन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा