नेकपा एमालेका नेता महेश बस्नेत सभामुख विरुद्ध खनिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीको गलत व्याख्या गरेर समानान्तर न्यायालय चलाउन खोजेको आरोपसमेत लगाउँदै सभामुख पार्टीको स्वार्थमा हिँड्न खोजेको उनको आरोप थियो ।
पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “अस्थिरता, विकृति र विसंगतिले भरिएको सदन अब चल्दैन, यसले विधेयक पास गर्न पनि सक्दैन । यो थारो गाईजस्तै हो । यो संसद्लाई जतिसक्दो चाँडो अन्त्य गरेर अर्ली इलेक्सनमा जानुपर्छ । फागुनदेखि वैशाखसम्म सबै तहको निर्वाचन एकैचोटि गराउनुपर्छ । अब फैसला गर्ने जिम्मा जनतालाई दिऊँ ।”
एमालेको १४ जना सांसदलाई कारबाही नगरेकाबारे परेको मुद्दा अदालतमा विचाराधीन रहेकाले भदौ २८ गतेसम्म पर्ख भन्दा पनि सभामुखले जबर्जस्ती गरेकाले संसद्मा अवरोध गर्नुपरेको उनको जिकिर छ । उनले थपे, “अस्ति प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न कानुनमन्त्री पठाउनुभएको थियो । अब त सम्बन्ध सुध्रिएला भनेको फेरि माधव नेपाल र प्रचण्डले वातावरण बिगारिसकेछन् ।”
नेता बस्नेतले सभामुखले अरु दललाई एउटा र एमालेलाई अर्को कानुन लगाउन नमिल्ने बताए । निर्वाचन आयोग, सर्वोच्च अदालत र सभामुखले सेटिङ चलाएको आरोप पनि लगाए । लोकतान्त्रिक मान्यतालाई चुनौती दिएर अध्यादेश ल्याइएको र देशीविदेशी शक्तिको डिजाइनभित्र माधव नेपाल एउटा पात्रका रुपमा खडा भएको उनको दाबी थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।