शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओली र देउवामा पार्टी फरक कार्यशैली एउटै, देउवाको कार्यशैली फरक नदेखिएको काँग्रेस नेताहरूकै दाबी !


  • बिहिबार, भाद्र २४ २०७८
11.8K
SHARES

फाईल तस्बिर

विगतमा झन्डै दुई तिहाइको हाराहारीमा भएको केपी ओली सरकार सुशासन र संविधान कार्यान्वयनको भूमिकामा सधैँ आलोचनाको विषय बनिरह्यो । सरकारी निवास बालुवाटारबाटै सत्ता सञ्चालन गरेको आरोप ओलीले कार्यकाल भरिनै खेपी रहे, प्रधानमन्त्री भएको साढे तीन वर्षमा निकै कम समय सिंहदरबार पुगेका थिए केपी ओली ।

दुई तिहाई हार हारीको समर्थनमा सिंहदरबार छिरेका ओलीको कार्यशैलीले आजित भएकाहरूले २९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बाट ‘ओली शैली’ नदोहोरियोस् भन्ने अपेक्षा गर्ने नै भए। स्वयं देउवाका लागि पनि विगतको छवि सुधार गर्ने अवसरमा रूपमा पनि लिइएको थियो । तर सरकारले काम कारबाहीले भोलि आउने चुनावमा पनि प्रभाव पार्ने विगतको ओली सरकारको कार्यशैली भन्दा फरक नभएको उनकै पार्टी नेपाली काँग्रेसका नेताहरूले बताउन थालेका छन् ।

दुई महिनाको काम कारबाहीलाई लिएर उनकै पार्टी नेपाली काँग्रेसमा असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, दार्चुला घटनालाई प्रष्ट अडान नलिएको र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने आशयका गृह मन्त्रालयका वक्तव्यलाई लिएर काँग्रेसमा असन्तुष्टि छ ।

खुला रूपमै पूर्व माहामन्त्री समेत रहेका प्रकाशमान सिंहले अभिव्यक्ति स्वतन्त्रतालाई दखल गर्ने गरी गृह मन्त्रालयले वक्तव्य निकालेको विषयमा आपत्ति जनाई सकेका छन् भने अन्य नेताहरूले पनि आपत्ति जनाएका छन् । त्यस्तै केन्द्रीय सदस्य गगन थापा,कृष्ण सिटौला लगायत नेताहरूले सरकारको कार्यशैली ठिक नभएको भन्दै आलोचना गर्न थालेका छन् ।

काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मन्त्रिपरिषद् विस्तारदेखि प्रशासनिक संयन्त्रमा विगतमा देखिएका कमजोरी सच्याएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्री देउवा चुकेको स्वीकार गर्छन् ।

कांग्रेस नेताहरुले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा पनि प्रधानमन्त्रीको भूमिकासँग सन्तुष्ट छैनन् । एक नेता भन्छन्, ‘पार्टीको तर्फबाट बुझ्दा एसएसबीले तुइनको तार काटेकै हो भन्ने पाएका थियौं । त्यति बुझिसकेपछि प्रधानमन्त्रीले तत्काल भारतीय समकक्षीसँग सम्वाद गर्नुपर्थ्यो ।’

प्रधानमन्त्री देउवाले त्यसो गरेनन् । गृहमन्त्री बालकृष्ण खाँडले घटनाबारे संसदमा जवाफ दिँदा एसएसबीले तुइनको तार काटेको कारण घटना भएको प्रत्यक्षदर्शीको भनाइ समेत उल्लेख गरेनन् ।

तर छानविन समितिको रिपोर्टले एसएसबीकै संलग्नतामा घटना भएको बतायो र सरकारले कूटनीतिक नोट पठायो । एक नेता भन्छन्, ‘आज आएर त्यही भन्नुपर्‍यो । यदि हामीले सुझाएको समयमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग फोन गरेर यस्तो यस्तो कुरा आएको छ । हामी छानविन गर्दैछौं, तपाई‌ंहरुले सहयोग गर्नुस् भनेको भए आज परिरिस्थित कति फरक हुन्थ्यो ?’

कांग्रेसका नेताहरुले एमसीसीबारे नकारात्मक टिप्पणी नगर्नू, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन नगर्नू भनेर गृह मन्त्रालयले दिएको वक्तव्यप्रति समेत असन्तुष्टि जनाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा