एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा स्पष्ट रूपमा एमसीसीको पक्षमा छु भनेर भन्ने गर्थे । तर सत्ता बहिर्गमन भए लगत्तै ओली यु टर्न भएका छन् ।
ओलीको व्यवहार अहिले अमेरिकाप्रति कठोर बन्दै गएको जस्तो देख्न सकिन्छ । प्रधानमन्त्री हुँदा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्न निकै सक्रिय भएका उनी प्रतिपक्षी दलका नेता भए लगत्तै यु टर्न किन भएका भन्ने प्रश्न उब्जिएको छ ।
ओलीले एमसीसी संसदमा प्रस्तुत गर्न चुनौती दिने देखि प्रस्ताव आएमा विचार गरिने बताएका छन् । आज एमाले संसदीय दलको बैठकमा ओलीको बोली एमसीसीबारे विगत र वर्तमानमा फरक देखियो । उनले भने, हामी अग्रसर भइहाल्ने पक्षमा छैनौं ।
ओलीले एमसीसीको विवरण पढेर फाइदा र घाटाबारे टुंगो लाग्न अरुलाई छाडिदिएको बताए । उनले भने, सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन पनि गरेका हेनौं त्यसैले हाम्रो काँधमा हाल्न जरुरी छैन ।
एमसीसीबारे प्रष्ट हुन सांसदहरुले भन्दा ओलीले जनहित हुने भए साथ हुने भन्दै अहिले नहतारिने स्पष्ट पारे ।
विगतमा एमसीसी संसदमा प्रस्तावका रुपमा नबढाएको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटाको खुलेर आलोचना गरेका थिए । अहिले उनी एमसीसीबारे फरक बोल्न थालेका छन् ।
एमसीसी शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा सम्झौता भएको थियो । अहिले फेरि उनी प्रधानमन्त्री भएकाले संसदबाट पारित गरी कार्यान्वयनमा लाने रणनीति देखिदैछ ।