शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रूपान्तरण नहुने र क्रान्ति नगर्ने हो भने माओवादी विघटन गरौं: प्रचण्ड


  • बुधबार, भाद्र २३ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सजिलै पार्टीका नेता/कार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको बताएका छन्।

उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको पनि बताए।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २२ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुने बताए।

‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र?,’ प्रचण्डले भने, ‘बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ।’ आफूले यसो भनेर निराशा बाँड्न भने नखोजेको उनले बताए।

‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो। गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू।’

उनले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने पनि बताए। माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने रहेको उनको भनाइ थियो।

‘एमाले र कांग्रेससँग त्यही चरित्रमा प्रतिस्पर्धा गर्न हामी कमजोर हुन्छौं। क्रान्ति र परिवर्तन गर्न सक्ने विशेषता हाम्रो हो। यो गर्न नसके हाम्रो औचित्य हुन्न,’ उनले भने।

उनले एमालेले मदन भण्डारीलाई ‘लोगो’का रूपमा देखाए पनि भण्डारीको हत्या गर्नेहरू पत्ता लगाउन उत्तराधिकारी भन्नेहरूले नै चासो नदेखाएको आरोप लगाए।

साथै प्रचण्डले यथास्थितिमै एमसिसी पारित नहुने बताए। ‘यथास्थितिमै एमसिसी पारित हुन्न भनेर हामीले भनिरहेका छौं,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा