शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पशुपतिमा ९७ किलो सुनको जलहरी लगाएर अरू ११ किलो गायब – अख्तियारमा उजुरी


  • मंगलबार, भाद्र २२ २०७८
13.7K
SHARES

फाइल तस्विर

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा र पूर्वसदस्य सचिव प्रदीप ढकालसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ।

पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि उनीहरू दुई जनालाई अख्तियारले बयान लिएको हो।

बयानमा कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडासहित अन्य पदाधिकारीहरूलाई पनि अख्तियारले बोलाएको छ।

अख्तियार उच्च स्रोतका अनुसार जलहरीमा १०८ किलो सुन लगाउने भने पनि परिमाण कम भएको उजुरीको आधारमा उनीहरूसँग बयान लिइएको हो।

पशुपतिको शिवलिंगमा गत फागुन महिनामा सुनको जलहरी लगाइएको थियो। फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरीको उद्घाटन गरेकी थिइन्।

१०८ किलोको सुन लगाउने भनिए पनि ९७ किलोमात्र लगाएर बाँकी सुन ‘गायब’ पारिएको उजुरी परेपछि अख्तियारले अनुसन्धानमा सक्रियता देखाएको हो।

‘सुन के कति गायब हो वा होइन, अहिले नै किटान गरेर भन्न नसकिए पनि गडबड भएको देखिएपछि अनुसन्धान थालिएको हो,’ अख्तियार उच्च स्रोतले भन्यो।

उक्त स्रोतका अनुसार फागुन ११ गते जलहरी लगाइसकिएको थियो। सो दिन राति ८ बजे मुचुल्का बनाउँदा ९७ किलोमात्रै सुन खपत भएको उल्लेख थियो।

त्यही राति ११ बजे अर्को मुचुल्का बनाउँदै कोषका अधिकारीहरूले बाँकी सुनको ‘रिङ’ बनाएर लगाइएको उल्लेख गरेका थिए।

‘तीन घन्टामै किलोको किलो सुनको रिङ बनाएर लगाइएको कुरा पत्यारलाग्दो देखिँदैन,’ स्रोतले भन्यो।

सुनको जलहरी लगाउँदाताका थापा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष थिए। साउन ३१ गते तत्कालीन सदस्य सचिव ढकालको कार्यकाल सकिएपछि पर्यटन मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले थापालाई नयाँ सदस्य सचिव नियुक्त गरेका थिए।

२०७७ फागुन १२ गते राष्ट्रपतिबाट उद्घाटन गराउँदा १०८ किलोकै जलहरी भनिएको थियो। यति ठूलो विषयमा कोष सञ्चालक परिषदमा बैठक नै नराखी केही व्यक्तिहरूले ‘गुपचुप’ रूपमा रातारात निर्णय गरेर जलहरी उद्घाटनको समय तय गरेका थिए।

पछि कोषका केही पदाधिकारीले सुनको हिसाब खोज्दा उनीहरूले देखाउन सकेनन्।

‘केही व्यक्तिले उक्त विषयमा चासो राख्दा केही सुनमा तामा मिसाएर किला बनाई मर्मत गरेको भनी बाँकी सुन पचाउन खोजेका छन्,’ उजुरीमा उल्लेख छ।

अख्तियार स्रोतका अनुसार जलहरीमा केही तामा मिलाएर लगाउनु पर्ने भए पनि ११ किलो सुनको हिसाब पारदर्शी देखिएको छैन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा