काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी दिए।
बैठकले स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ,’ उनले भने।
पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ।
केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालेको भन्दै अधिकारी पराजुलीले अब भने सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको जनाए।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्। तर विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो।
तर विज्ञहरूले अहिले विद्यालय खोल्ने बेला नभएको भन्दै कम्तीमा दसैं/तिहारपछि मात्र सोबारे निर्णय लिनुपर्ने सुझाएका थिए। जसले गर्दा विद्यालय खोल्ने तरखरमा रहेका काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै स्थानीय तहहरू त्यसबाट फेरि पछाडि हटेका थिए। अब भने डिसिसिएमसीले विद्यालय खोल्न सक्ने गरी निर्णय गरिदिएको छ।