शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रहरीलाई मुक्का हानेको भिडियो भाइरल, को हुन् प्रहरीलाई कुट्ने युवा ?


  • बुधबार, भाद्र १६ २०७८
12.3K
SHARES

काठमाडौं – ड्युटीमा खटिएका प्रहरीलाई मुक्का हानेको भिडियो भाइरल भएको छ । सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ती प्रहरीको मास्क खोल्नेदेखि मुक्काले समेत हान्छन्।

सार्वजनिक भएको ४ मिनेट २७ सेकेन्ड लामो उक्त भिडियोमा फिल्डमा खटिएका कमाण्डर भने युवा जमातलाई रोक्ने प्रयास गर्छन्। यति गर्दा समेत उनीहरुले प्रहरीलाई टेर्दैनन्। ठेलमठेल गर्दै गाडीभित्र बसेका प्रहरीलाई मुक्का हान्छन्।

‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि, मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्।

यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।

घटना भदौ ११ गतेको भएको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उक्त घटना भदौ ११ गते रातिको न्यूरोडस्थित पिपुल्स प्लाजा अगाडिको भन्ने जानकारी आएको बताए।

ड्युटीमा रहेको प्रहरीमाथि त्यसरी मुक्का हान्ने समूहको खोजी भइरहेको र उनीहरुलाई कारबाहीको दायरामा ल्याइने एसएसपी सिंहले बताए। ‘मुक्का हान्ने समूह जो भएपनि उनीहरु कारबाहीको दायरामा आउँछन्। उनीहरुको खोजी भइरहेको छ’, एसएसपी सिंहले भने।

उता काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा एआइजी हरि पालले पनि युवाहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइसकेको बताए।

उक्त भिडियो सार्वजनिक भएपछि पूर्वडीआईजी पूर्णचन्द्र जोशीले प्रहरीमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्। उनी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सहि हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा