शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’


  • बुधबार, भाद्र १६ २०७८
9.3K
SHARES

फाइल तस्विर

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको आज सुनुवाइ हुने भनिएको मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो।

तत्कालीन नेकपा माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्यामा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ जेठ १३ मा मुद्दा परेको थियो। उक्त मुद्दासहित सापकोटाविरुद्धको तीन थान मुद्दा आज संवैधानिक इजलासमा पेसी चढेको थियो।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको बेन्चमा सापकोटाविरुद्धको मुद्दा पहिलो नम्बरमा थियो।

२०७२ चैत २२ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा छन्।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।

२०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि यो मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा