नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो बलियो पकड बनाएको छ । दल विभाजनपछि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा बलियो उपस्थिति बनाउने देखिएको छ ।
प्रदेश २ मा एमालेका सांसदहरु प्रस्ट दुई कित्तामा विभाजित भइसकेका छन् । यसका आधारमा पनि एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी पार्टीको अवस्था बलियो देखिएको हो ।
भदौ २२ अघि प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिबारे लेखाजोखा गर्न कठिन देखिन्छ । किनभने कुन दलमा जाने भन्ने निर्णय गर्ने समय सीमा भदौ २२ सम्म छ तर नेताहरू स्पष्ट रूपमा अहिले नै खुलेका कारण प्रदेश २ मा माधव नेपाल समूहको उपस्थिति बलियो हुने निश्चित प्राय रहेको छ ।
नेकपा एकीकृत समाजवादीले प्रदेश २ का ८ वटै जिल्लामा आफ्नो अवस्था बलियो रहने दाबी गरेको छ । प्रदेश २ प्रदेशसभामा एमालेका २१ जना सांसदमध्ये १३ जना नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा खुलिसकेका छन् । यस आधारमा प्रदेशसभामा एमालेसँग अब ८ जना सांसदमात्र रहने देखिन्छ ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातुन नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद भने एमालेका पक्षमा खुलेका छन् ।
प्रदेश २ बाट एमालेका ३१ जना केन्द्रीय सदस्यमध्ये १६ जना एमालेकै पक्षमा देखिएका छन् भने १५ जना नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका छन् ।
एमालेको प्रदेश कमिटीमा नेकपा एकीकृत समाजवादी नै हावी देखिन्छ । एमालेको १०० सदस्यीय प्रदेश कमिटीमा ६० जना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा खुलेका छन् भने ४० जना एमालेमा छन् ।