आफूलाई अप्ठेरो परेको बेला साथ दिनेलाई पाखा लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले अवसरवादीलाई मौका दिएपछि एमालेभित्र द्धन्द्ध सुरु भएको छ । प्रतिनिधिसभा विघटन गरेपछि नेकपासहित एमाले पनि विभाजन हुन थालेपछि ओलीका खास मान्छेबाहेक अरुले उनलाई समर्थन जनाएनन् ।
ओलीले प्रतिनिधिसभा भंग गरेर प्रतिगमन गरेको भन्नेहरु पनि अहिले ओलीले गरेका कामलाई आममाफी दिँदै ओलीको पछिपछि लागेका छन् । नयाँ पार्टीको भविष्य संकटमा पर्ने भन्दै मन नपरे पनि ओलीको पछि लाग्न केही नेता बाध्य भएका छन् ।
माधवकुमार नेपालको मान्छे भनेर पहिचान बनाएका सिन्धुपाल्चोक –२ बाट प्रतिनिधिसभामा निर्वाचित शेरबहादुर तामाङले ओलीलाई खुलेरै साथ दिए । उनीमात्र होइन उनकी श्रीमती उषाकला राई पनि ओलीतिर आएर प्रदेश १ को सामाजिक विकासमन्त्री भएकी छिन् ।
राई र तामाङ दुवै एमालेका निर्वाचित केन्द्रीय सदस्य हुन् । तामाङ पूर्व कानुनमन्त्री पनि हुन् । तामाङलाई ओलीले पार्टीको कार्यालय सचिव बनाइदिएका छन् । उनी ओलीसँग लागेपछि केही दिन स्वास्थ्यमन्त्री पनि भए ।
ओलीले तामाङलाई पार्टीको प्रबक्ता बनाउन वचन दिएका थिए । तर उनलाई पाखा लगाएर अवसरवादी योगेश भट्टराइलाई प्रवक्ता बनाएपछि तामाङमाथि अन्याय भएको चर्चा एमालेभित्रै चलेको छ ।
नेकपा एमालेका सचिवसमेत रहेका योगेशकुमार भट्टराई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्नेमा अग्रपंक्तिमा पर्थे । उनी ओलीविरोधी भाषणमा सक्रिय रहेका थिए तर अहिले ओलीकै पछि लागेर चाकडी गर्दै प्रवक्ता हुन सफल भएका छन् ।
२०७७ पौष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भट्टराइसहित नेकपाका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा एमालेका ४ र माओवादीका ३ जना मन्त्री थिए ।
उनीहरु राजीनामा दिएर ओलीको प्रतिगमनविरुद्धको अभियानमा लागे । अहिले योगेशले एमाले विभाजन भएपछि माधवकुमार नेपाललाई साथ दिएनन् ।
केही समयअघिदेखि बीचको धारमा बसेर कता फाइदा हुन्छ भनेर च्याँखे थाप्दै आएका योगेशको अबको राजनीति के भन्ने प्रश्न उठेको छ । दहीचिउरे प्रवृत्ति देखाएपछि नेपालले योगेशलाई पनि पत्याउन छोडेका थिए ।
एमाले विवाद मिलाउन गठन गरिएको कार्यदलमा पनि उनलाई कुनै समूहले राखेन । फलस्वरुप उनी विरक्तिएर हाइकिङ गर्नतिर लागे । योगेशले यसअघि पनि एमालेको प्रवक्ताको जिम्मेवारी निभाइसकेका छन् ।
योगेश २०७६ साउन १५ गतेबाट २०७७ पौष ५ गतेसम्म ठिक १७ महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङ–१ बाट निर्वाचित भएका थिए ।
संविधानसभाको २०६४ र २०७० को निर्वाचनमा काठमाडौं–६ बाट लज्जास्पद ढंगले हार खाएपछि उनी आफ्नै जन्मथलो ताप्लेजुङ पुगेका थिए । हिजोसम्म प्रष्ट विचार राख्ने नेताका रुपमा चिनिएका उनी अहिले अस्पष्ट विचार राख्ने र अवसरवादी चरित्र देखाउनेका रुपमा परिचित भएका छन् ।