आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बिहरुको विशेष दिन हो । आज कृष्णको आराधना गरे विद्या, बल, गुण, तेज, ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । भगवान् श्रीकृष्णमा षड्–ऐश्वर्य- धर्म, ज्ञान,यश,श्री, वैराग्य ऐश्वर्य, सम्पन्नता थियो।
जब घर तथा मठमन्दिरमा पनि भगवानलाई स्थापना गरिन्छ र पूजा–आराधना गरिन्छ भने त्यो घर वा मन्दिर सामान्य नभएर यी ६ वटै ऐश्वर्यले युक्त हुन्छ। यसर्थ भगवानको प्राणप्रतिष्ठा गर्दा यी ६ वटा कुरा त्यहाँ आऊन् भन्ने अनुष्ठानविज्ञको चाहना हुन्छ। त्यसैले विधिपूर्वक उपयुक्त समयमा भगवानको प्राणप्रतिष्ठा गरिन्छ।
शुभमुहूर्त एवं स्थिर लग्नमा प्राणप्रतिष्ठा गर्नुको उद्देश्य पनि भगवान् श्रीकृष्णको षड्–ऐश्वर्य–सम्पन्नता त्यहाँ पूर्णरूपमा चिरकालसम्म रहिरहोस् र जुनसुकै समयमा पनि भक्तले पूजाआराधना गरी याचना गर्दा उसमा पनि ती गुण अधिक मात्रामा प्राप्त होऊन् भन्ने नै हो।
यद्यपि व्यक्ति कृष्ण बन्न सक्दैन तर कृष्णले चाहनुभयो भने विद्या, बल, गुण, तेज, ऐश्वर्य तथा यशले युक्तचाहिँ अवश्यै बनाइदिनुहुन्छ। यही नै भक्त र भगवानमा फरक छ।
यस्तै प्रकारका विलक्षणता भगवान् श्रीकृष्णका अनेकौं लीलामा देख्न सकिन्छ र वहाँका गुणानुवादको अध्ययन गर्दा चिन्तन–मनन गर्न सकिन्छ। यस्तो विलक्षणता भगवान् श्रीकृष्णबाहेक अन्यत्र पाइँदैन। यही नै श्रीकृष्णको विशेषता एवं विलक्षणपन हो।