बाग्मती प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हाल्न पुगेकी नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको पद त्याग्न तयार रहेको बताएकी छिन् ।
आफ्नो लागी मुख्यमन्त्रीको पद भन्दा ठूलो कुरा नेकपा एमालेको एकता रहको भन्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्री पदमै रहनको लागी माधव नेपालको एकिकृत समाजवादी पार्टीमा कुनै हालतमा नजाने प्रष्ट पारेकी छिन् ।
नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित .भएको अवस्थामा मुख्यमन्त्री शाक्यले पार्टी रोज्ने की मुख्यमन्त्री राज्ने अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।
१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा ९एकीकृत समाजवादी० मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगाउन शाक्यलाई दल परिर्वतन एक विकल्प हुनसक्छ । तर, उनले राजनीतिक जीवनमा धेरै विषय त्यागेर पार्टी निर्माण गरेको बताउँदै सत्ताका लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् ।
मैले एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिर्वतन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिन । त्यो काम मबाट हुँदैन,’ उनले भनिन्, ‘पद पाएपनि नपाएपनि यही पार्टीमै रमाउँछु । दायाँ–बायाँ गर्दिन ।’ शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन बताइन् ।
‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ । पद र सत्ताको लागि राजनीति गरेको होइन । म फुटको पक्षमा छैन । नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन । मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् ।
पार्टीलाई एकताका लागि मैले मुख्यमन्त्रीको पद समहालेको हुँ । एकताका लागि दबाब दिन एकहप्ता काठमाडौं बसेर हेटौंडा आइपुगेको छु । अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । त्यसका लागि आन्तरिक छलफल सुरु गरिसकेको छु,’ मुख्यमन्त्री शाक्यले भनिन् ।
नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । एमाले भित्रको विवादको समयमा उनी तत्कालिन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेकी थिइन् । एमाले औपचारिकरुपमा विभाजन हुने भएसँगै तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई अगाडि सारेका थिए ।