वागमती प्रदेशसभामा १ सय ९ सांसद छन् । जसमध्ये एमालेका ५६ जना सांसद थिए । दुई जना एकीकृत समाजवादीमा लागेपछि एमालेका ५४ सांसद भएका छन् । र, बहुमतका लागि ५५ सांसद चाहिन्छ । दुई सांसदले साथ नदिनेबित्तिकै शाक्यको सरकार अल्पमतमा पर्ने देखिएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकार जोगाउन केही साना दलहरुसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।
माधव नेपाल समूहको बलियो नेताका रुपमा चिनिएकी शाक्यलाई ओली समूहका डोरमणि पौडेललेनै मुख्यमन्त्री तथा संसदीय दलको नेताबाट राजीनामा दिएर नेतृत्वको जिम्मा लगाएका थिए ।
शाक्य अहिले एमालेकै पुरानो जिम्मेवारीमा फर्किसकेकी छन् । तर, मन्त्री कृष्णप्रसाद शर्मा खनालले भने एकीकृत समाजवादीको सनाखत प्रक्रियामा भाग लिएर दल फेरेका छन् ।
चितवन र धादिङबाट २७ हजार बढी मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका खनाल र राजेन्द्रप्रसाद पाण्डेकै कारण एमाले नेतृत्व सरकार संकटमा परेको हो ।
त्यसो त काभ्रेका लक्ष्मण लम्सला,बसुन्धरा हुमागाई,काठमाडौंकी रमा आले मगरलगायत एकीकृत समाजवादीमा लागेका छन् । राजेन्द्र पाण्डेले कम्तिमा १० जना प्रदेशसभा सदस्य आफ्नो पार्टीमा आउने बताएका छन् । त्यो अवस्थामा साना दलको साथले पनि अष्टलक्ष्मीको सरकार जोगिँदैन । कि त माधव नेपालले शाक्यप्रति सहानुभूति जनाउनुपर्छ, नत्र अल्पमतमा पर्ने निश्चित छ ।