धनगढी – नेकपा एमाले विभाजनसंगै नेता कार्यकर्ता तितरबितर भएर छरिएका छन्। दोस्रो तहका नेताहरू एमालेमै रहँदा तेस्रो तहका नेताहरू भने आफ्ना प्रमूख नेता छोड्न थालेका छन्। यसैक्रममा भीम रावललाई पनि सुदूरपश्चिममा आफ्ना विश्वास पात्रहरुले छोड्ने भएका छन् ।
लामो समयदेखि माधवकुमार नेपाल पक्षमा रहेका रावल पार्टीमा विवाद भएपछि ओली पक्षमा खुलेपछि उनले सुदूरपश्चिममा आफ्ना विश्वासपात्र गुमाउने देखिएको हो ।
तत्कालीन नेकपा हुँदै एमाले पुनर्गठित हुँदासम्म नेपाल समूहमा रहँदै ओलीको खह्रो विरोधीका रुपमा रहेका रावल अहिले ओलीतिर खुलेर एमालेमै रहने निर्णयमा पुगेका छन् । सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेश सभामा नेपाल समूहको वर्चश्व थियो । जसले गर्दा यहाँ रावलको ‘दबदबा’ थियो ।
तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गर्दा एमालेमै रहने भएका रावलले सुदूरपश्चिममा आफ्नो जनआधार गुमाउने देखिएको हो ।
एमाले विभाजन भएपछि प्रदेशका नेताहरु विभाजित हुने भएका हुन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट सभामुखबाहेक २४ जना सांसद छन् । त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना र ओली पक्षमा सातजना मात्रै खुलेका थिए । तर अब यो संख्यामा केही फेरबल हुने देखिएको छ ।
यसअघि नेपाल पक्षमा रहेकामध्ये तीन जना मात्र भीम रावलसँगै लागेर साबिक एमाले मै बस्ने भएका छन् ।स्रोतकाअनुसार एमाले प्रदेश सभा संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, सांसद हर्क कुँवर र मना साउद मात्र रावलसँगै रहने सम्भावना छ ।
यसो हुँदा अब ओली पक्ष अर्थात् एमालेमा १० जना सांसद हुने भएका छन् । रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका दीर्घ सोडारी नेपालसँगै नयाँ दलमा जाने श्रोतको दाबी छ ।
प्रदेशस भामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट एकीकृत समाजबादीको केन्द्रीय कमिटीमै छन् ।
मन्त्री जोशीले भने प्रदेशसभामा यस अघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने बताएकी छन् । उनले अहिले केन्द्रीय समितिमा नबसेपनि अधिकांश एमाले सांसद नयाँ पार्टीमा खुल्ने दाबी गरेकी छन् । प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन् ।