शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अब कहिले हुन्छ मन्त्रीपरिषद् विस्तार, को–को बन्दैछन् मन्त्री ?


  • बिहिबार, भाद्र १० २०७८
13.3K
SHARES

फाइल तस्विर

काठमाडौँ — निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएपछि सरकार विस्तारको बाटो खुलेको छ । एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेपछि मन्त्रीपरिषद् विस्तारको बाटो खुलेको हो ।

यी दुईसहित दलको संख्या ९७ पुगेको छ । एकीकृत समाजवादी चौथो र लोकतान्त्रिक छैटौं पार्टी बनेका छन् । आयोगले नेपाल र ठाकुरको पार्टीलाई मान्यता दिएसँगै सत्ता गठबन्धनको बहुमत पुगेको छ ।

प्रतिनिधिसभामा एमाले ९८ सांसदमा खुम्चिएको छ । सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन् । एकीकृत समाजवादीले तत्कालै सरकारमा सहभागी हुने जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेशअनुसार दुवै पार्टीलाई दर्ता गर्ने निर्णय भएको आयोगका सचिव सुरेश अधिकारीले बताए । आयोगले नेपालको पार्टीको दर्ता नम्बर १६६ र ठाकुरको पार्टीको दर्ता नम्बर १६७ कायम गरिदिएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

२ सय ३ केन्द्रीय सदस्यमध्ये ५५ जना एमाले छाडेर नयाँ दलमा समावेश भएका छन् । एमालेबाट छुट्टिएका २० प्रतिशत केन्द्रीय सदस्यको आधारमा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ । एकीकृत समाजवादीले सांसद भने २० प्रतिशत पुर्‍याउन सकेन ।

आयोगले दुवै पार्टीलाई बुधबार साँझ दल दर्ताको प्रमाणपत्रसमेत दिइसकेको छ । आयोगले दल दर्ताको निवेदन दिएका दुवै पार्टीका संघीय सांसद र केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे सनाखतका लागि बोलाएको थियो । आयोगका अनुसार एकीकृत समाजवादीका ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको थियो ।

३० मध्ये २३ जना प्रतिनिधिसभा र ७ जना राष्ट्रिय सभा सदस्य छन् । यही पार्टीमा आउन चाहेका तीन जनाको भने आयोगले सनाखत गरेन । झलनाथ खनालबाहेक अरू सबै आयोगमा उपस्थित भएर सनाखत गरेका हुन् । खनालको दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गराएको आयोगले जनाएको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादीका १३ सांसद र १६ केन्द्रीय सदस्य सनाखत भएका छन् । लोकतान्त्रिक समाजवादीको केन्द्रीय सदस्यमा रेशम चौधरीको पनि हस्ताक्षर थियो तर उपस्थित नभएकै कारण सनाखत हुन नसकेको आयोगले जनाएको छ ।

एकीकृत समाजवादीमा जान चाहने तीन सांसदलाई आयोगले सनाखत नगराएपछि उनीहरू एमालेकै सांसदको हैसियतमा छन् । प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे, माया न्यौपाने र राष्ट्रिय सभाकी शारदादेवी भट्टको सनाखत हुन नसकेको हो । दल दर्ताका लागि आयोगमा सुरुमै निवेदन दिँदा उनीहरूको नाम नभएका कारण सनाखत नभएको आयोगले जनाएको छ ।

दल दर्ता भएसँग अब सरकारलाई मन्त्रीपरिषद् विस्तार गर्ने बाटो खुलेको छ । नेकपा एमाले माधव नेपाल समूह र जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार रोकेका थिए ।

अब दुई पार्टीले घुट्टै दलको मान्यता पाएकाले उनीहरु सरकारमा सहभागी हुने छन् । नेपाल समूहलाई एक राज्यमन्त्रीसहित ६ जना मन्त्री बनाउने विषयमा सहमती भइसकेको छ । आज दिनभर मन्त्री बन्ने नेताहरुका विषयमा छलफल हुनेछ ।

भोली शुक्रबार बेला मन्त्री परिषद विस्तार हुने बालुवाटार श्रोतको भनाई छ । अब काँग्रेसबाट ४ जना, माओवादीबाट ४ जना, एकीकृत समाजवादीवाट ६ जना र जनता समाजवादीबाट ६ जना मन्त्रीहरुले सपथ खानेछन् ।

महन्थ ठाकुरको लोकतान्त्रीक समाजवादी पार्टीले पनि सरकारमा जाने इच्छा देखाएको खण्डमा केही मन्त्रालय घटबड हुनेछन् । काँग्रेसबा मन्त्री बन्नेहरुको लिष्ट तयार हुन सकेको छैन् । माओवादी र एस पार्टीले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको लिष्ट तयार पारिसकेको छ ।

माओवादीबाट देवेन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने भएका छन् । उनीसहित पूर्वबाट सुदन किराती, मद्येसबाट शिवकुमार मंडल, दलितबाट महेश्वर गहतराज (अथक) मन्त्री बन्ने भएका छन् ।

नेकपा एस बेदुराम भुसालकको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री मन्त्री बन्ने लगभग निश्चित भएको स्रोतले जनाएको छ । मन्त्रीमा जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये १ जना नियुक्त हुने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा